काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता घट्दै जाँदा सैनिक कल्याणसम्बन्धी कार्यक्रम सञ्चालनमा दबाब बढेको बताएका छन्।
भूतपूर्व सैनिक सम्मेलनमा बोल्दै उनले नेपाली सेनाले विगतदेखि नै राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे। साथै राष्ट्रिय एकता सुदृढीकरणमा संस्थागत रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो।
उनले बदलिँदो सुरक्षा चुनौती र समयसापेक्ष आवश्यकतालाई ध्यानमा राख्दै सेनालाई सक्षम, आधुनिक र उत्तरदायी संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। देशभित्र सुरक्षा व्यवस्थापन, पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापनका साथै अन्तर्राष्ट्रिय शान्ति मिसनमा सहभागिताले नेपाली सेनाको विश्वसनीयता वृद्धि भएको उनले बताएका छन्।
सेनापति सिग्देलका अनुसार सैनिक कल्याण बोर्डमार्फत पूर्व तथा वर्तमान सैनिकलाई लक्षित सेवा विस्तार गर्ने प्रयास जारी छ। तर, समग्र आर्थिक गतिविधिमा देखिएको सुस्तता, बैंकिङ क्षेत्रका चुनौती तथा मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा आएको कमीका कारण कल्याणकारी योजनाको वित्तीय आधार कमजोर हुँदै गएको संकेत गरेका छन्।
यस्तै, शान्ति स्थापनामा खटिने सैनिक संख्यामा आएको गिरावटले पनि यस्ता कार्यक्रमको दीर्घकालीन सञ्चालनमा थप चुनौती सिर्जना गरेको उनले उल्लेख गरेका छन्।







