काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूलाई शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क लिने कार्य नगर्न कडा निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार केही विद्यालयहरूले नियम उल्लंघन गर्दै विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको र चर्को शुल्क लिएको गुनासो प्राप्त भएको छ।
नियमअनुसार एउटै विद्यालयमा भर्ना भएपछि, अर्को कक्षामा गए पनि विद्यार्थीबाट पुनः भर्ना शुल्क लिन नपाइने व्यवस्था छ। तर, कतिपय निजी विद्यालयहरूले ‘एन्युअल फी’ शीर्षकमा अनावश्यक शुल्क उठाइरहेका पाइएका छन्।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ स्थानीय तहहरूलाई विद्यालय अनुगमन गरी नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउन पत्राचार गरेको छ।
शिक्षा नियमावली २०५९ को परिच्छेद १५ अनुसार शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था स्पष्ट छ। मन्त्रालयले प्रचलित कानून र स्वीकृत शीर्षकभन्दा बाहिर शुल्क असुल गर्नु गैरकानुनी भएको र यसरी उठाइएको अग्रिम शुल्क तत्काल फिर्ता गर्नुपर्ने पनि जनाएको छ। नियमको अवज्ञा गरे कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।







