काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले त्यति बेला प्रहरी कार्यालय र हतियार जोगाउन महत्त्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारी तथा सहयोग गर्ने नागरिकहरूलाई पुरस्कृत गर्न सिफारिस गरेको छ।
आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेत, प्रहरी वृत्त कालिमाटीका डिएसपी मधु थापा, प्रहरी वृत्त मालिगाउँका डिएसपी सुनिल शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डिएसपी चिनिमाया तामाङ, प्रहरी वृत्त जनसेवाका डिएसपी कृष्णकुमार चन्द तथा प्रहरी वृत्त ठिमीका डिएसपी नवराज ढुंगानालाई पुरस्कृत गर्न सिफारिस गरेको हो।
त्यसैगरी, प्रहरीलाई जोगाउन सहयोग गरेको भन्दै दुई जना नागरिकलाई पनि पुरस्कृत गर्न सिफारिस गरिएको छ। जसअनुसार कोटेश्वरस्थित होटेल स्वर्णिम एण्ड गेस्ट हाउसका सञ्चालक शिवराम बाँडा र कोटेश्वरकै घडी पसल सञ्चालक गीता कुमारी साहलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ।
आयोगका अनुसार प्रदर्शनका क्रममा आक्रमणको जोखिम बढेको अवस्थामा ती व्यक्तिहरूले प्रहरीलाई सुरक्षित स्थानमा प्रवेश गराउने, ढोका बन्द गरी जोगाउने तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्य गरेका थिए। साथै, प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न खोज्दा होटेलको कौसीको ढोकाबाट प्रहरीलाई प्रवेश गराई ताला लगाएर सुरक्षित राख्नुका साथै खाना समेत उपलब्ध गराएको उल्लेख गरिएको छ







