काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संस्थाको आगामी नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
ललितपुरमा आयोजित ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवस समारोहमा बोल्दै उनले सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्न सकिए संस्थागत एकता सुदृढ हुने धारणा व्यक्त गरे। निजी क्षेत्रको साझा मञ्च भएकाले नेतृत्व पनि सामूहिक सहमतिबाट तय हुँदा संगठन थप प्रभावकारी बन्ने उनको भनाइ थियो।
अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता उल्लेख गर्दै परम्परागत सीप, कला र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत निर्यात विस्तारको सम्भावना रहेको बताए। गुणस्तर कायम राख्दै उत्पादनको परिमाण वृद्धि गर्नुपर्नेमा उनले जोड दिएका छन्।
उनका अनुसार उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, प्रविधिको प्रयोग तथा बजार विस्तारमार्फत निर्यात अभिवृद्धि गर्न सकिन्छ। यसका लागि स्थानीय तह, निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक रहेको उनले उल्लेख गरे।
औद्योगिक वातावरण सुधारका लागि नीतिगत परिमार्जन अपरिहार्य रहेको औँल्याउँदै उनले लगानीमैत्री नीति, कर प्रणाली सरलीकरण, पूर्वाधार विकास तथा प्रशासनिक प्रक्रिया सहज बनाउनुपर्ने बताए। साथै नीति निर्माणमा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको एकीकृत धारणा आवश्यक रहने उनले बताएका छन्।
महासंघको विधान संशोधनबारे जानकारी दिँदै उनले जिल्ला तथा नगरस्तरबाट आएका सुझाव समेटिएको र यसले संगठनलाई थप समावेशी तथा प्रतिनिधिमूलक बनाउने विश्वास व्यक्त गरे। संशोधित व्यवस्थाले महिला उद्यमी तथा स्थानीय तहको प्रतिनिधित्व बढाउने अपेक्षा गरिएको छ।







