जलेश्वर (महोत्तरी) । महोत्तरीको बर्दिबास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुँच पुगेको छ । बर्दिबास १, २, ३ र १४ मा लामो समयदेखि खानेपानीको समस्या थियो ।
अहिले घरघरमा खानेपानीको धारा जडान भएको बर्दिबास ३ का आशा कुमारीले बताइन् । बर्दिबास– १४ का विक्रम महतोले भनिन्,“पहिला इनारको पानी खानुपर्थ्यो । त्यो पनि हिउँद लागेपछि बिस्तारै पानीको सतह घट्दै जाँदा चैत, वैशाखमा धमिलो पानी खान बाध्य थियौँ । अहिले धारा जडान भएपछि पानीको संकट हटेको छ । ”
बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जडान गरेको धाराबाट पाँच हजार ९९८ परिवारले पानी सुविधा लिँदै आएका छन् । बर्दिबासको चुरेमा खानेपानीका तीन मुहान छन् । जुन चुरेको रातु खोलाको दहमा पर्छ । बर्दिबासको मूल सहरी क्षेत्रका वडामा दैनिक सात लाख लिटर खानेपानीको माग हुन्छ ।
हिउँद लागेपछि उपभोक्ताको माग धान्न खानेपानी समितिलाई समस्या हुने गरेको छ । रातु खोलाको सुनारमरे दहमा त्यसको मुहान छ । अहिले त्यो मुहान पनि खोला उत्खननले जोखिममा छ ।
दिनानुदिन बर्दिबासमा जनसङख्या बढ्दो छ भने पिउने पानीको मुहान घट्दो अवस्थामा छ । तर पनि आफूहरूले बर्दिबासवासीलाई खानेपानी खुवाउनका लागि दिनरात तत्पर रहने गरेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भुलन सेन ठकुरीले बताए।







