काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चिकै एउटा जीवित र समावेशी संस्थाकै रूपमा उठाउने प्रयास गरिरहेको बताइन् ।
उनले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत स्पष्ट पारिन् ।
न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘न्यायको खोजी गर्न आउने हरेक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गरौँ । न्यायको खोजी गर्न आउनेहरूको जुत्तामा आफ्नो खुट्टा राखेर अन्यायको अनुभूति गरौँ । र त्यसपछि न्यायको मर्मलाई बुझेर न्याय सम्पादन गरौँ । कानुन जबसम्म मानिसको जीवनसँग जोडिँदैन, त्यो केबल कागजको खोष्ट नै हुन्छ ।’







