काठमाडौँ । सुरक्षा जोखिम बढेको मूल्यांकनपछि अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानमा कार्यरत आफ्ना सरकारी कर्मचारीलाई त्यहाँबाट प्रस्थान गर्न आदेश दिएको जनाएको छ।
उक्त निर्णयअन्तर्गत अमेरिकी दूतावास, इस्लामाबादसँग सम्बद्ध कर्मचारी, साथै अमेरिकी वाणिज्य दूतावास, लाहोर र अमेरिकी वाणिज्य दूतावास, कराचीका कर्मचारी तथा उनीहरूका परिवारलाई पाकिस्तान छोड्न निर्देशन दिइएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्ला घटनाक्रमका कारण सुरक्षा अवस्था जटिल बनेकाले यस्तो कदम चालिएको हो। यद्यपि इस्लामाबादस्थित दूतावास परिसरको सुरक्षा स्थितिमा भने कुनै परिवर्तन नभएको जनाइएको छ।
यसअघि नै मन्त्रालयले सुरक्षा संवेदनशीलता उल्लेख गर्दै साउदी अरब, ओमान र साइप्रसस्थित मिसनहरूबाट अमेरिकी सरकारी कर्मचारी र परिवारलाई बाहिरिन अनुमति दिएको थियो।
मध्यपूर्व क्षेत्रको परिस्थितिका कारण स्वदेश फर्कन चाहने अमेरिकी नागरिकलाई आवश्यक सहजीकरण उपलब्ध गराउन पहल गरिएको मन्त्रालयले जनाएको छ। पछिल्ला केही दिनमा नौ हजारभन्दा बढी अमेरिकी नागरिक सुरक्षित रूपमा फर्किएको तथा इजरायलबाट मात्रै तीन सयभन्दा बढी नागरिक बाहिरिएको उल्लेख गरिएको छ।
यसै सन्दर्भमा जेनेभामा अमेरिकी प्रतिनिधिहरूले आणविक सम्झौतासम्बन्धी विषयमा इरानसँग छलफल गरेको दुई दिनपछि संयुक्त राज्य अमेरिका र इजरायलले सैन्य कारबाही सुरु गरेका थिए। उक्त घटनाक्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको उल्लेख गरिएको छ।
त्यसपछि इरानले मध्यपूर्व क्षेत्रमा प्रतिआक्रमण विस्तार गरेको बताइएको छ। मंगलबार संयुक्त राज्य अमेरिका र इजरायलद्वारा तेहरानका प्रमुख संरचनामा आक्रमण गरी क्षति पुर्याइएको तथा अमेरिकी वाणिज्य दूतावाससमेत निशानामा परेको जनाइएको छ।







