काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरी निर्वाचन तयारीको अवस्था अनुगमन तथा समीक्षा गरेकी छन्। भ्रमणका क्रममा उनले मुस्ताङ जिल्ला पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायत क्षेत्रको अवलोकन गर्दै स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रतिनिधि तथा निर्वाचनमा खटिएका कर्मचारीसँग छलफल गरेकी थिइन्।
जोमसोममा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकारी (जिल्ला न्यायाधीश) तथा सुरक्षा निकायका प्रमुखसँग निर्वाचन तयारीको अवस्था, सम्भावित चुनौती र विशेषगरी मौसमी जोखिमका विषयमा विस्तृत समीक्षा भएको थियो। हिमाली क्षेत्रमा हिमपात वा वर्षा हुँदा मतदान प्रभावित हुन सक्ने विषय उठेपछि प्रधानमन्त्रीले त्यस्ता क्षेत्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीका लागि औषधि, प्राथमिक उपचार सामग्री र आवश्यक उपकरणको पर्याप्त व्यवस्था गर्न निर्देशन दिएकी हुन्।
भ्रमणका क्रममा उनले मुस्ताङका विभिन्न हिमाली बस्तीको हवाई निरीक्षणसमेत गरेकी थिइन्। स्थानीय प्रशासनका अनुसार शान्ति सुरक्षा अवस्था सामान्य रहेको छ भने सहरतर्फ गएका मतदाता पनि निर्वाचनकै कारण अपेक्षाभन्दा चाँडै घर फर्किन थालेको जानकारी दिइएको छ।
मुस्ताङबाट फर्किएपछि प्रधानमन्त्रीको उपस्थितिमा पोखरास्थित विजयपुरमा रहेको नेपाली सेनाको पश्चिम पृतना मुख्यालयमा गण्डकी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलसम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न भएको थियो। बैठकमा प्रमुख सचिव डण्डुराज घिमिरे, पृतनापति उपरथी भोला थापा, कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, नेपाल प्रहरीका डीआईजी दीपेन्द्र जीसी, सशस्त्र प्रहरी बल नेपालका डीआईजी दीपेन्द्र शाह, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल तथा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतको सहभागिता रहेको थियो।
बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, मतदान स्थलको अवस्था, मौसमी चुनौती र आकस्मिक योजनासम्बन्धी प्रस्तुतीकरण गरिएको थियो भने विभिन्न निकायका प्रमुखहरूले आफ्नो धारणा राखेका थिए। प्रस्तुत विवरणअनुसार राजनीतिक दल र मतदातामा निर्वाचनप्रति उत्साह देखिएको, आचारसंहिता पालनामा सहकार्य भइरहेको र प्रचारप्रसार समग्रमा शान्तिपूर्ण, मर्यादित तथा मितव्ययी रूपमा अघि बढिरहेको जानकारी दिइयो। यद्यपि सामाजिक सञ्जालमार्फत बहिष्कारका नाममा वातावरण प्रभावित पार्ने केही प्रयास भएको विषय पनि उठाइएको र त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याउने प्रक्रिया चलिरहेको जनाइएको छ।
गण्डकी प्रदेशमा कुल १८ लाख ४४ हजार ३५५ मतदाता रहेका छन्। १८ निर्वाचन क्षेत्रमा ३१४ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा २९ जना महिला उम्मेदवार रहेका छन्। प्रदेशभर १,२६९ मतदान स्थल तोकिएको छ। हाल मौसम अनुकूल रहेको र प्रतिकूलताको पूर्वानुमान नरहेकाले तोकिएको मिति फागुन २१ गते नै एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
प्रधानमन्त्री कार्कीले हालसम्मको तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै सम्बन्धित निकायलाई धन्यवाद दिइन्। उनले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विवादरहित रूपमा सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारी तथा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने बताइन्। राष्ट्रलाई निकास दिने अवसरका रूपमा निर्वाचनलाई लिएर सबै पक्षले जिम्मेवारीपूर्वक दायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।







