काठमाडौँ । महाशिवरात्रि तथा सेना दिवस-२०८२ विविध कार्यक्रमसहित सैनिक मञ्च, टुँडिखेलमा सम्पन्न भएको छ । आइतवार आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा रामचन्द्र पौडेल सहभागी भएका थिए।
समारोहको शुभारम्भमा राष्ट्रपति पौडेलले वीर स्मारकमा पुष्पहार अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। सो अवसरमा उनले नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही-२०८२’ विमोचन गरेका थिए।

साथै फ्री-फल जम्पतर्फ प्रथम र द्वितीय हुने क्रमश: प्रमुख सेनानी विवेक विक्रम शाह र हुद्दा रमेश कुमार चौधरीलाई पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रमका क्रममा नेपाली सेनाको हेलिकोप्टरबाट राष्ट्रिय झण्डा तथा महाशिवरात्रि एवं सेना दिवसको ब्यानरसहित पुष्पवृष्टि गरिएको थियो।

राइफल र तोपबाट बढाइँ गरिएको थियो भने विविध सैनिक कला तथा सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। कार्यक्रममा नेपाली सेनाका साथै मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीले साङ्गीतिक प्रस्तुति दिएका थिए।

सो अवसरमा प्रधानसेनापतिले सुरक्षा तथा सामरिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका विभिन्न गैरसैनिक व्यक्तित्वहरूलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदरपत्रद्वारा सम्मान गरेका थिए।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधानसेनापतिहरू, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, महामहिम राजदूतहरू, बहालवाला तथा अवकाशप्राप्त रथीबृन्द तथा अधिकृतहरू, सैनिक सहचारीहरू, युवा आदान-प्रदान कार्यक्रममा सहभागी विभिन्न देशका क्याडेटहरू तथा सञ्चारकर्मीहरू सहभागी भएका थिए।










