काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा निश्चित अवधिका लागि विदेशी नम्बर प्लेट भएका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय, मलंगवामा शुक्रबार सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिसहित सम्पन्न बैठकले फागुन १५ देखि २२ गतेसम्म दुई पाङ्ग्रे र चार पाङ्ग्रे सहित सबै विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो। उक्त अवधिमा प्रतिबन्ध उल्लंघन भएमा सुरक्षाकर्मीले सम्बन्धित सवारी नियन्त्रणमा लिने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको हो। सर्लाहीसहित मधेस क्षेत्रमा भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा अन्य सवारी साधनको प्रयोग उल्लेख्य हुने गरेको सन्दर्भमा सुरक्षा संवेदनशीलता मूल्याङ्कनपछि यस्तो निर्णय गरिएको बताइएको छ।
बैठकमा निर्वाचन आचारसंहिता, २०८२ लाई जिल्लास्थित राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक दलहरूले इमान्दारीपूर्वक पालना गर्ने सहमति भएको छ। साथै, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता दलहरूले व्यक्त गरेका छन्।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार क्षेत्र नम्बर ४ अन्तर्गत बलरा नगरपालिका-१ स्थित कृषि सेड मिर्जा हथिऔल मतदान केन्द्रमा भौतिक पूर्वाधार पर्याप्त सुरक्षित नभएको विषयमा समेत छलफल भएको छ। उक्त केन्द्रको व्यवस्थापन सम्बन्धमा जिल्ला सुरक्षा समितिले वडाध्यक्ष तथा सम्बन्धित सरोकारवालासँग परामर्श गरी आवश्यक निर्णय गर्ने जनाएको छ।
यसैबीच प्रमुख जिल्ला अधिकारी कडरिया, मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया तथा सुरक्षा निकायका प्रमुखहरूको छुट्टै बैठकले निर्वाचन आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गराउने र निर्वाचनलाई भयमुक्त तथा व्यवस्थित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।







