काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टी–२० विश्वकपमा सहभागी हुन लागेको नेपाली खेलाडीलाई विश्वले नेपालको अब क्रिकेटको ‘राइजिङ पावर’ देख्ने बताएका छन् ।
उनले जारी गरेको भिडिओ सन्देशमार्फत शुभकामना दिदै भनेका छन्,‘अहिले मुम्बईमा टी २० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु । हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन्।’
रोहित पौडेल नेतृत्वको टोलीले देशको शिर उच्च राख्ने विश्वास ओलीले व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘मुम्बईको त्यस भव्य क्रिकेट मैदानमा तपाईँहरू एक्लै हुनुहुन्न। तपाईँहरूको साथमा मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका समेत नेपालीहरूको साथ छ। हामी तपाईँहरूका साथमा छौँ। विपक्षी जतिसुकै बलियो होस्, तपाईँहरूले विपक्षीको हिसाब गर्ने होइन। आफूमा कुनै प्रकारको हीनता बोधी ग्रन्थ पलाउन दिने होइन।’







