काठमाडौँ। नेपाली काँग्रेसका नेता दिलेन्द्र बडूले आफूले स्वेच्छिक रूपमा सक्रिय निर्वाचन राजनीतिबाट पछि हट्ने निर्णय कार्यान्वयनमा रहेको बताएका छन्। उनले पार्टीको आधिकारिक उम्मेदवारलाई सफल बनाउन आफ्नो भूमिका केन्द्रित रहने स्पष्ट पारेका छन्।
एक सार्वजनिक अपिलमार्फत बडूले दार्चुला जिल्लामा नयाँ पुस्तालाई अगाडि ल्याउने उद्देश्यसहित सक्रिय उम्मेदवारीबाट अलग रहने पूर्वघोषणाअनुसार नै अहिले पनि सहकार्य र सहयोगमा क्रियाशील रहेको उल्लेख गरेका छन्। उनले पार्टी निर्णयको सम्मान गर्दै सम्पूर्ण सामर्थ्य उम्मेदवारको जिततर्फ लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीको विशेष महाधिवेशनपछि निर्वाचित सभापतिको नेतृत्वमा रहेको संसदीय बोर्डले दार्चुलामा युवापुस्ताको चाहनालाई ध्यानमा राख्दै धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको जानकारी अपिलमा उल्लेख गरिएको छ।
बडूले यो निर्वाचनलाई नियमित आवधिक प्रक्रियाभन्दा भिन्न परिस्थितिमा सम्पन्न हुने विशेष चुनावका रूपमा व्याख्या गरेका छन्। जेन जेड आन्दोलनको भावनाअनुसार पुस्तान्तरणलाई प्राथमिकतामा राख्दै पार्टी नेतृत्व र जिल्लाका प्रतिनिधिहरूको सहमतिमा गरिएको निर्णय सबैले स्वीकार गरिसकेको उनको भनाइ छ।
उनले पार्टीपंक्तिलाई आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर अभियानमा लाग्न आह्वान गरेका छन्।







