काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले कार्यक्रमको दिगोपन र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सेवाग्राही र सेवा प्रदायक दुवै पक्षलाई सचेत र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ । बोर्डले अनावश्यक परीक्षण तथा दुरुपयोग नियन्त्रणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको हो ।
‘स्वास्थ्य बीमाको सही प्रयोग गरौँ’ भन्ने सन्देशसहित बोर्डले सार्वजनिक अपिल जारी गर्दै सेवाग्राहीलाई चिकित्सक र स्वास्थ्यकर्मीमाथि आवश्यकता नभएका परीक्षण गराउन दबाब नदिन अनुरोध गरेको छ । सीमित स्रोतसाधनका बीच कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै दुरुपयोगले प्रणालीमा नकारात्मक असर पार्ने बोर्डको भनाइ छ ।
बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकले सेवा लिइरहेका छन् भने औसतमा दैनिक करिब ८ करोड रुपैयाँ बराबरको स्वास्थ्य खर्चको जोखिमबाट नागरिकहरू सुरक्षित भइरहेका छन् ।
यसै सन्दर्भमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र परीक्षण, प्रयोगशाला सेवा तथा उपचार सिफारिस गर्न निर्देशन दिएको छ । बोर्डद्वारा जारी गरिएका निर्देशिका, कार्यविधि र परिपत्रहरूको पूर्ण पालना गर्न सेवा प्रदायक संस्थालाई आग्रह गरिएको छ ।
लामो समयदेखि भुक्तानी नपाएको कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्रलगायत केही स्वास्थ्य संस्थाले बीमा सेवा स्थगित गरेको उल्लेख गर्दै बोर्डले ती सेवाहरू पुनः सुचारु गराउन निरन्तर पहल भइरहेको जानकारी दिएको छ ।
स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ बमोजिम सञ्चालनमा रहेको यो कार्यक्रमले सर्वसाधारणको स्वास्थ्य पहुँच विस्तार गर्नुका साथै दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्याउने उद्देश्य राखेको बोर्डले जनाएको छ । सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित रही वित्तीय जोखिम न्यूनीकरण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अधिकतम प्रयास भइरहेको बोर्डको भनाइ छ ।







