काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक नियमित रूपमा सञ्चालन गर्न आवश्यक पर्ने सभा स्थलको व्यवस्था गर्न सरकारसँग औपचारिक अनुरोध गरेको छ ।
सचिवालयका अनुसार गत भदौ २३ र २४ गते भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा संसद भवनका रूपमा प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा क्षति पुगेपछि हाल उक्त स्थान प्रयोगयोग्य नरहेको अवस्था सिर्जना भएको छ । यही कारण देखाउँदै सचिवालयले मुख्य सचिवलाई पत्र पठाई उपयुक्त वैकल्पिक भवनको व्यवस्था गरिदिन आग्रह गरेको हो ।
पत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधि सभाको बैठक तत्कालै सञ्चालन गर्नुपर्ने भएकाले सभाहलसहित पदाधिकारी तथा सचिवालयका कर्मचारीका कार्यकक्ष, संसदीय दलका कार्यालय, बैठक सञ्चालनका लागि आवश्यक अडियो-भिडियो रेकर्डिङ, प्रत्यक्ष प्रसारण तथा सूचना प्रविधिसम्बन्धी उपकरणहरू समेटिएको संरचना आवश्यक रहेको उल्लेख गरिएको छ ।
सिंहदरवार परिसरभित्र निर्माणाधीन संघीय संसद भवन अझै पूर्णरूपमा तयार नभएकाले वैकल्पिक स्थलको खोजी गर्नुपरेको सचिवालयको भनाइ छ ।







