काठमाडौँ । सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उनीहरू राइफल, पेस्तोल र खुकुरीजस्तो देखिने सामग्री बोकेर खुला रूपमा आवतजावत गरिरहेको देखिएपछि सम्भावित आपराधिक जोखिमको आसंकामा निगरानी बढाइएको थियो। शनिबार राति आसपासका क्षेत्रको सीसीटीभी दृश्य विश्लेषण गरेपछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरू बागमती प्रदेश ०२-०१२ प ५८५२ नम्बरको एफजेट मोटरसाइकल प्रयोग गरिरहेका थिए। पक्राउ परेकामध्ये किरण घिमिरेविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइने ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।
अर्का एक जना १५ वर्ष उमेरका किशोर रहेकाले आवश्यक सोधपुछपछि अभिभावकको जिम्मामा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट नक्कली थ्री नट थ्री राइफल, दुई थान नक्कली कटुवा पेस्तोल र एक थान नक्कली खुकुरी बरामद गरेको छ। सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने खालका गतिविधिप्रति निगरानी र कारबाही निरन्तर रहने प्रहरीको भनाइ छ।







