काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामध्ये एक नागढुंगामा गरिएको नियमित सुरक्षा जाँचका क्रममा लागुऔषधसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार नागढुंगा चेकपोइन्टमा यात्रुवाहक बसको निरीक्षण गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको हो।
काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.००१-००६ ख ७३३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा करिब ७ ग्राम मात्रामा उक्त पदार्थ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। संयुक्त रूपमा खटिएको नागढुंगा प्रहरी प्रभाग र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको टोलीले बसमा सवार एक व्यक्तिलाई शंकाका आधारमा खानतलासी गरेको थियो।
जाँचका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका-३ निवासी ३६ वर्षीय निरोज न्यौपानेको ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा गिलो पदार्थ फेला परेको प्रहरीको भनाइ छ। बरामद सामग्रीलाई खैरो हेरोइन ठहर गर्दै उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ।







