२०औँ शताब्दीका महान् गुरु ओशोले सन् १९६९ अक्टोबरमा भारतको गुजरातको द्वारिकामा एउटा ध्यान शिविर सञ्चालन गर्नुभयो। त्यसको नाम थियो “मै मृत्यु सिखाता हुँ”। उक्त शिविरमा दिनुभएको प्रवचनहरूको सङ्कलन अहिले “मै मृत्यु सिखाता हुँ” भन्ने पुस्तकका रूपमा उपलब्ध छ। मानिसको जन्म र मृत्युका रहस्यहरूको चर्चा ओशोले त्यस शिविरमा गर्नुभयो।
समुद्रको किनारमा भएको उक्त अत्यन्त अद्भुत शिविरमा ओशोलाई एक जना साधकले प्रश्न गर्दछन्- “तपाईंले मृत्यु सिकाउँदै हुनुहुन्छ, तर सिकाउनुपर्ने त जीवनको कला होइन र ?”
महान् गुरु ओशोले भन्नुभयो- “जसले मृत्युको कला सिक्दछ, ऊ जीवनको कलामा पनि निपुण हुन्छ। जो मर्नका लागि राजी हुन्छ, ऊ परम जीवनको अधिकारी पनि हुन्छ। मृत्यु जन्मकै विकास हो। जन्म र मृत्युमा कुनै विरोध छैन। जीवनलाई जान्ने द्वार नै मृत्यु हो। जीवन र मृत्यु विपरीत कुरा होइनन्। परम जीवनका दुईवटा खुट्टा छन् -एउटा जन्म र अर्को मृत्यु। यहाँ मानिसहरू चाहन्छन् कि मर्नु नै नपरोस्। जुन दिन जीवन मृत्युसँग बस्न राजी हुन्छ, त्यस दिन जीवन परम जीवन बन्छ। मृत्युसँग राजी हुने व्यक्तिको जीवन विजयको जीवन हुन्छ।”
मृत्युको कला सिकाउने ती महान् गुरुले मृत्युका सम्बन्धमा नवीन कुराहरू प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार हामीले मृत्युलाई स्वीकार गर्नुपर्दछ। जीवनको सबैभन्दा ठूलो रहस्य “मर्न सिक्नु र मृत्युलाई स्वीकार गर्नु” हो। हामी अतीतलाई स्मरण गर्दै त्यसलाई मर्न दिँदैनौँ, जीवनको अतीतको बोझ बोकेर हिँड्छौँ। ओशोको भनाइ अनुसार मर्ने कलाको एउटा सूत्र यही हो –“जुन कुरा मर्यो, त्यसलाई मर्न दिनुहोस्। त्यसको बोझ बोकेर नहिँड्नुहोस्।” जुन अतीत थियो, त्यसलाई स्मृतिमा सधैँ जोगाइराख्न आवश्यक छैन, त्यसलाई विदा हुन दिनुपर्छ।
यस पंक्तिकारले ओशोको “मै मृत्यु सिखाता हुँ” भन्ने पुस्तकका उद्गारहरू यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु। २०औँ शताब्दीका महान् रहस्यदर्शी ओशोका अनुसार जन्म र मृत्यु एउटै घटनाका दुई पाटा हुन्। मृत्यु र जन्म दुई छुट्टाछुट्टै घटना होइनन्। यदि व्यक्ति होशपूर्ण तरिकाले मृत्युलाई देख्न सक्छ भने ऊ होशपूर्ण तरिकाले जन्मन पनि सक्छ। मृत्यु होशपूर्ण भयो भने जन्म पनि होशपूर्ण हुन्छ। होशपूर्ण तरिकाले मर्नका लागि मृत्यु आउनुभन्दा धेरै पहिलादेखि तयारी गर्नुपर्छ। तयारी नभएमा व्यक्ति मृत्युको समयमा बेहोश भइहाल्छ। मृत्युमा प्राण एक शरीरबाट हटेर अर्को शरीरमा प्रवेश पाउँछ।
ओशोका अनुसार मृत्युमा होशपूर्ण हुन सानो-सानो दुःखमा जाग्ने अभ्यासबाट सुरुआत गर्नुपर्छ। दुःखमा मात्र होइन, सुखमा पनि जाग्ने अभ्यास आवश्यक छ। कसैले गाली गर्यो भने त्यसबाट उत्पन्न दुःखलाई टाढाबाट हेर्ने प्रयास गर्नुपर्छ। जीवनमा आउने दुःख र सुख दुवैलाई साक्षीभावले हेर्ने साधना गर्नुपर्छ।
आत्मालाई जान्ने क्षण मृत्यु हो। त्यसैले मृत्युमा जाग्ने तयारी गर्नुपर्छ। मृत्युमा जाग्ने कला नै ध्यान हो। ध्यानको अभ्यास निरन्तर चलिरहेमा मृत्युको क्षणमा पूर्ण ध्यान उपलब्ध हुन्छ। जसको मृत्यु होशपूर्ण अवस्थामा हुन्छ, उसको आत्माले होशपूर्ण रूपमै जन्म लिन्छ। ऊ आमाको गर्भमा पनि प्रतिपल होशपूर्ण नै हुन्छ।
जिसस, बुद्ध, महावीर र ओशो यस्ता व्यक्तिहरू हुन् जसले होशपूर्ण तरिकाले मृत्युवरण गरेका थिए। होशपूर्ण तरिकाले मृत्युमा प्रवेश गरेको व्यक्तिले आफ्ना आमाबुबाको छनोट गर्न सक्छ। जागेको व्यक्तिले कहाँ जन्म लिने भन्ने छनोट गरेर जन्म लिन्छ। जब जन्म नै जागरणसहित हुन्छ, तब जीवन पनि जागरणमै रहन्छ। त्यस्तो जीवनमा मुक्ति घटित हुन्छ। मृत्यु हुँदैन भन्ने जान्नु नै मृत्युमाथिको विजय हो। जसले मृत्युलाई चिनेको छैन, उसले जीवनलाई चिन्न सक्दैन। जसले मृत्युलाई चिन्छ, उसले मृत्युको वस्त्र हटाएर जीवनलाई पनि चिन्छ। मृत्यु जीवनलाई जान्ने द्वार हो। जसले मृत्युलाई प्रेम गर्न सक्दैन, उसले जीवनलाई कसरी प्रेम गर्न सक्छ?
नेपालमा ओशो अभियानका प्रणेता स्वामी आनन्द अरुणले गुजरातमा भएको उक्त ध्यान शिविरमा पहिलो पटक भाग लिनुभएको थियो। पटनामा इन्जिनियरिङ पढ्दै गरेका स्वामी अरुण त्यस बेला एक्लै नेपालबाट उक्त शिविरमा सहभागी हुन जानुभएको थियो। नेपालमा ओशो दर्शनको प्रचारको बीजारोपण त्यहीँ शिविरबाट भएको थियो। त्यस बेला आचार्य रजनीशका रूपमा भारतमा प्रख्यात ओशोलाई स्वामी अरुणले उहाँकै निवासमा ब्रह्ममुहूर्तमा अत्यन्त आश्चर्यजनक र रहस्यमय ढङ्गले भेट गर्नुभएको थियो। ओशोसँग पहिलो प्रत्यक्ष भेटघाट र वार्तालाप त्यहीँ शिविरमा भएको थियो। उक्त क्षणहरूको वर्णन स्वामी अरुणले आफ्नो पुस्तक “अन्तरयात्रा” मा अत्यन्त अद्भुत रूपमा गर्नुभएको छ।
ओशोको जीवन जति रहस्यमय थियो, उहाँको मृत्यु पनि त्यत्तिकै रहस्यमय रह्यो। उहाँले सन् १९ जनवरी १९९० मा भारतको पुणा सहरस्थित कोरेगाउँ पार्क क्षेत्रको आश्रममा आफ्नो शरीर त्याग गर्नुभयो। उहाँको देहावसान भएको अहिले ३६ वर्ष भइसकेको छ। यतिका वर्ष बितिसक्दा पनि उहाँको मृत्युबारे अनेक प्रश्नहरू अनुत्तरित नै छन्, जसका कारण उहाँको मृत्यु अझै रहस्यमय बन्दै गएको छ।
ओशोको मृत्युका सम्बन्धमा भारतका प्रख्यात लेखक अभय वैद्यले “हु किल्ड ओशो” नामक पुस्तक लेखेका छन्। उक्त पुस्तकमा ओशोको मृत्यु अस्वाभाविक र षड्यन्त्रपूर्ण भएको दाबी गरिएको छ। उनले करिब ३० वर्षसम्म गरेको अनुसन्धानबाट प्राप्त विभिन्न रहस्यहरू पुस्तकमा उजागर गरेका छन्। ओशोको मृत्यु हुनुभन्दा करिब दुई वर्ष अघिदेखि नै उहाँलाई परिवारका कुनै सदस्यसँग भेट्न नदिइएको उल्लेख गरिएको छ।
ओशोको मृत्यु प्रमाणपत्र जारी गर्ने डाक्टर गोकुल गोकाणी लामो समयसम्म मौन बसेपछि पछि मौनता तोड्दै मृत्यु प्रमाणपत्रमा गलत विवरण लेखेर हस्ताक्षर गराइएको बताएका छन्। उनका अनुसार ओशोको मृत्यु हृदयाघातबाट भएको भनेर नजिकका शिष्यहरूले प्रमाणपत्रमा त्यही लेख्न दबाब दिएका थिए।
त्यसबेला ओशोकी सेक्रेटरी मा योग नीलम थिइन्। उनले धेरै पछि एउटा अन्तर्वार्तामा ओशोको मृत्युका केही रहस्यबारे थोरै बोलेकी थिइन्। उनका अनुसार ओशोको मृत्युको सूचना आश्रममै रहेकी उहाँकी आमालाई पनि ढिला जानकारी गराइएको थियो। ओशोकी आमाले लामो समयसम्म “मेरो छोरालाई उनीहरूले मारे” भन्दै गुनासो गर्दै आएकी थिइन्।
ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुणले ओशोको मृत्यु स्वाभाविक नभई हत्या नै भएको दाबी गर्दै आउनुभएको छ। उहाँका अनुसार अमेरिकामा पक्राउ परी जेलमा राखिँदा ओशोलाई थालियम नामको मन्द विष दिइयो। त्यसपछि भारत फर्किएपछि पनि विश्वका शक्तिशाली राष्ट्र र संगठित धर्महरूले उहाँको दर्शन र शरीर नष्ट गर्न षड्यन्त्र जारी राखे, जसको परिणामस्वरूप उहाँको हत्या गरिएको हो।
ओशोका भाइ स्वामी शैलेन्द्र सरस्वतीले ओशोलाई मृत्युको आभास करिब १० महिना पहिल्यै भएको र त्यसको संकेत आफूले पनि पाएको बताएका छन्। तर पछिल्ला दिनमा उनले ओशोको मृत्यु प्राकृतिक भएको भनाइ दिन थालेका छन्।
ओशोको मृत्युको रहस्य दिनप्रतिदिन झन् जटिल बन्दै गएको छ। ओशोले शरीर त्याग गरेपछि उहाँको शरीरलाई पुणेको ओशो इन्टरनेशनल कम्युनको बुद्ध हलमा मात्र १० मिनेट राखी उत्सव मनाएर तुरुन्तै दाहसंस्कार गरिएको थियो। केवल १० मिनेटमै शरीर दाहसंस्कार गरिनुले पनि उहाँको मृत्यु झन् रहस्यमय बनेको छ।
ती महान् बुद्धपुरुषको रहस्यमय निधन भएको १९ जनवरीको पावन दिनमा उहाँप्रति हार्दिक नमन।
जय ओशो ! जय भगवान !







