काठमाडौँ । समाजको आर्थिक पक्षमा मात्रै नभई सामाजिक पक्षमा समेत महत्त्वपुर्ण योगदान पुर्याउँदै आएको वैदेशिक रोजगार क्षेत्रप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज यहाँ आयोजना गरेको “वैदेशिक रोजगारको भाष्य विनिर्माण” कार्यक्रमका वक्ताहरूले वैदेशिक रोजगारको सकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए ।
उक्त कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको उपस्थिति थियो । कार्यक्रममा सञ्जालका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद न्यौपानेले आप्रवासनमा जानेहरूलाई मानवीय दृष्टिले हेरिनु पर्ने बताए । विदेश जानु कुनै अपराध नभएकाले त्यहाँबाट प्राप्त सीप र ज्ञानको सही सदुपयोग गर्नेतर्फ राज्यले सोच्नुपर्ने उनको भनाइ थियो ।
पत्रकार बबिता बस्नेतले वैदेशिक रोजगारका विषयमा मिडियाको दृष्टिकोणबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनको कार्यपत्रमा वैदेशिक रोजगारका विषयमा प्राय: नकारात्मक समाचारलाई प्राथमिकता दिइने गरिएको र सकारात्मक विषयहरू उठान गर्न चुकेको निष्कर्ष थियो । पौरखी नेपालका अध्यक्ष सत्राकुमारी गुरुङले विदेशबाट फर्किएपछि समाजमा आफूले सुरुका दिनमा भोगेको मनोवैज्ञानिक विभेद सुनाएकी थिइन् ।
उनले वैदेशिक रोजगारमा जाने महिलाहरूलाई समाजले अझै पनि सकारात्मक रूपले नहेर्ने गरेको बताउँदै यही मनोविज्ञानलाई चिर्न पनि संस्थामा आबद्ध भइ अभियान चलाएको प्रष्ट पारिन् । वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र मानव अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड थियो ।







