काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मान स्वरूप संसद् भवन परिसरमा सालिक स्थापना गर्ने कार्यको हालसम्मको अवस्थाबारे जानकारी लिएकी छन्।
प्रधानमन्त्रीले सिंहदरबारमा आयोजित छलफलमा सम्बन्धित मन्त्रीहरू र सरोकारवाला निकायका उच्च अधिकारीहरूलाई बोलाई निर्माणाधीन संघीय संसद् भवन क्षेत्रमा सहिदको स्मृति संरचना राख्ने विषयमा विचार–विमर्श गरेकी हुन्। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानी मन्त्री मदन परियार र सहरी विकास मन्त्री कुमार इङ्नाम सहभागी थिए।
यसका साथै प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, सहरी विकास सचिव गोपाल सिग्देल र कानुन सचिव पाराश्वर ढुंगानासमेत बैठकमा उपस्थित थिए।
सहरी विकास सचिव सिग्देलले सहिदका सालिक राख्नका लागि पहिचान गरिएका स्थान, सम्भावित डिजाइन र आवश्यक तयारीबारे जानकारी गराउँदै प्रधानमन्त्रीबाट मार्गनिर्देशन माग गरेका थिए।
प्रधानमन्त्री कार्कीले यस विषयलाई प्राथमिकताका साथ अघि बढाउन संसद् भवन निर्माणसम्बन्धी गुरुयोजनामा आवश्यक संशोधन गरी काम शीघ्र सुरु गर्न निर्देशन दिएकी छन्।
सरकारले जेन जेड आन्दोलनकारीसँग भएको सहमतिअनुसार सहिदको त्याग र बलिदानलाई सम्मान, न्याय र अर्थपूर्ण स्मरणमार्फत संस्थागत गर्ने प्रतिबद्धता जनाइसकेको छ।







