काठमाडौँ । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय स्थापना गर्ने प्रयास प्रशासनिक तहमा अड्किँदा आफूलाई रिस उठेको र म्याग्दीतिर दगुरेको बताएका छन् ।
पुनका अनुसार शिक्षा क्षेत्रमा आमूल सुधार ल्याएर देशलाई आत्मनिर्भर र समृद्ध बनाउने उद्देश्यसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई केन्द्रमा राख्ने अलग्गै मन्त्रालय गठन गर्ने तयारी गरिएको थियो। सो अवधारणाअनुसार आवश्यक गृहकार्य अघि बढाइए पनि मुख्यसचिवको तहमा प्रक्रिया अल्झिँदा योजना कार्यान्वयन हुन नसकेको जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै भनेका छन्, “शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउने नीयतले मैले तीनवटा अध्यादेश र चारवटा नियमावली अघि सारेँ, जसलाई राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो निर्वाचनमा लड्ने थिइन।”
छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय गठनका लागि कार्यविभाजन नियमावली संशोधन गर्नुपर्ने कानुनी प्रक्रिया रहेको छ। मन्त्रालय थपघट गर्ने अधिकार प्रधानमन्त्रीसँग रहने र त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रस्ताव लैजानु पर्ने हुन्छ। तर प्रस्ताव अघि बढाउन मुख्यसचिवको सहमति अनिवार्य हुन्छ ।








