काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चितवन जिल्लामा मतदान स्थलको सुरक्षा अवस्थाको मूल्यांकन गरी वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान स्थललाई जोखिमको आधारमा तीन तहमा वर्गीकृत गरेको हो।
जिल्ला प्रशासनका अनुसार मतदान स्थलहरू अति संवेदनशील, संवेदनशील र सामान्य श्रेणीमा विभाजन गरिएका छन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए अनुसार २३ वटा मतदानस्थल अति संवेदनशील, ९३ वटा संवेदनशील र ४७ वटा सामान्य श्रेणीमा राखिएका छन्। प्रत्येक श्रेणीअनुसार फरक-फरक सुरक्षा रणनीति अपनाइने गरी सुरक्षासम्बन्धी योजना तयार गरिएको प्रशासनको भनाइ छ।
निर्वाचनको तयारी तीव्र बनेसँगै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्बन्धित निकायको टोलीले मतदान स्थलहरूको स्थलगत अनुगमन गरी उक्त वर्गीकरण गरेको हो। यसै क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन प्रक्रिया पनि सम्पन्न भइसकेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवनका तीन निर्वाचन क्षेत्रमा कुल ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्। तीमध्ये २ लाख १७ हजार ३१४ पुरुष, २ लाख २४ हजार ७६६ महिला तथा २ जना तेस्रो लिंगी मतदाता छन्। यी मतदाताका लागि जिल्लाभर १६२ वटा मतदानस्थल र ४९४ वटा मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन कार्यालयका प्रमुख भिमशेन कार्कीका अनुसार प्रतिनिधि सभा निर्वाचन २०७९ को तुलनामा यस पटक ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने मतदान केन्द्रको संख्या ३४ ले वृद्धि भएको छ।
क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ४९ हजार ६२१ मतदाता रहेका छन्, जसमा ७६ हजार ७६१ पुरुष र ७५ हजार ८६० महिला छन्। यस क्षेत्रमा ५६ मतदानस्थल र १६८ मतदान केन्द्र कायम छन्। निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ३७ हजार १५२ मतदाता रहेका छन्, जसमा ६७ हजार ८५७ पुरुष, ६९ हजार २९४ महिला र १ जना तेस्रो लिंगी मतदाता छन्। यहाँ ४८ मतदानस्थल र १५२ मतदान केन्द्र रहेका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ५५ हजार ३०९ मतदाता दर्ता छन्। तीमध्ये ७५ हजार ६९६ पुरुष, ७९ हजार ६१२ महिला र १ जना तेस्रो लिंगी मतदाता रहेका छन्। यस क्षेत्रमा ६३ मतदानस्थल र १७४ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ मा चितवनमा कुल ४ लाख ८ हजार ३४२ मतदाता रहेका थिए।







