काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनको उम्मेदवार छनोटको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुममा विवाद भएको छ ।
पार्टी केन्द्रले जिल्लाको भावना र स्थापित विधिलाई मिचेर अमुक व्यक्तिलाई टिकट दिएको भन्दै रास्वपा जिल्ला कार्यसमिति र सबै पालिका कमिटीका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।
जिल्ला कमिटीले सुरेन्द्र कार्कीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । तर जिल्लाको सिफारिस विपरीत रास्वपा केन्द्रीय समितिले ऋतुराज लिम्बूलाई तेह्रथुममा उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्टहरूले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरूले पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् ।
पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर जिल्ला र प्रदेश समितिको भावना विपरीत अमुक व्यक्तिलाई उम्मेदवारको टिकट दिँदा पार्टीको विधिमाथि प्रश्न उठेको उनीहरूको दाबी छ।








