काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा सुधार देखिएको छ । कर्जा असुलीमा सुधार आएसँगै कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने रकममा समेत उच्च सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ३४ प्रतिशत बढेको छ । बैंकहरूको नाफा बढ्नुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य रकम फिर्ता हुनु तथा कर्जा अपलेखन हुनु हो । चालु आवको मंसिरमा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्थाबाट मात्रै १७ अर्ब १० करोड रुपैयाँ फिर्ता गरेका छन् ।
बैंकहरूले सो शीर्षकबाट फिर्ता गरेको रकम सिधै नाफामा गणना हुने हो । त्यो शीर्षकको रकम बैंक तथा वित्तीय संस्थाले नाफाबाटै छुट्याउने गर्छन् ।
चालु आवको मंसिरमा बैंक तथा वित्तीय संस्थाका गैर बैंकिङ सम्पत्ति कर्जा नोक्सानी नगर्दा तथा विदेशी मुद्राको कारोबार र उतारचढावका कारण भएको आम्दानीले नाफामा थप सुधार आएको हो ।







