काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायमा रहेका केन्द्रीय विभागहरूको शुल्क संरचना तथा निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
अखिल (क्रान्तिकारी)को प्रतिनिधिहरूले आज सिंहदरबारस्थित मन्त्रालयमै भेट गरी त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका चारवटा केन्द्रीय विभागलाई त्रिविसभाको निर्णय अनुसार केन्द्रीय विभागमा स्तरोन्नति गरिए पनि मनपरी शुल्क लिइँदै आएकोप्रति आपत्ति पनि जनाएका छन् ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “केन्द्रीय विभागहरूको मनपरी शुल्क अन्त्य गरी शुल्क घटाउने सहमति भए पनि दोस्रो सेमेस्टर सुरु भइसक्दा पनि निर्णय कार्यान्वयन हुनसकेको छैन, पटक पटक आन्दोलन तथा वार्ता हुँदा पनि विश्वविद्यालय प्रशासन गम्भीर बन्न सकेको छैन ।”
अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्रीमार्फत उपकुलपतिसमक्ष तत्काल हस्तक्षेप गरी सहमति कार्यान्वयन र शुल्क समायोजन तथा विद्यार्थी हितका निर्णयहरू यथाशीघ्र लागू गर्नुपर्नेलगायत आन्दोलनपछि पटक पटक भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि गरेको छ । सोही अवसरमा मन्त्री पुनले अखिल (क्रान्तिकारी)ले राखेको विषयबारे जानकारी लिएर समाधानको निम्ति सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।







