काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणिम वाग्लेले आफूहरू सकारात्मक आकांक्षाको राजनीति गर्ने बताएका छन्। पार्टीको राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै पार्टीमा अवसरहरूको न्यायिक वितरण हुने बताए।
उनले आफूहरूलाई खसालेर खिसीटिउरी गर्नेहरूलाई चिर्दै लगिएको बताए। उनले अब आफूहरू च्याँखे थाप्ने र म्याजिक नम्बरमा इदर उदर गर्ने पार्टीमा रमाउन नचाहेको बताए। उनले रास्वपालाई राष्ट्रको साझा फूलबारीको रूपमा अगाडि लैजान चाहेको बताए।
उनले भने, ‘रविजी लामिछानेजीले ०७९ को असार ७ मा ठुलो आँट र जोखिम मोलेर पार्टी खोल्नुभयो। उहाँले खुम्चिँदै गरेको अहिलेका पार्टीबाट पनि भविष्य खोज्न सक्नुहुन्थ्यो तर त्यो बाटो रोज्नु भएन। उहाँले नयाँ शिराबाट आँट गर्नुभयो।’
२१ सीट मात्र हुँदा आफूहरूलाई न्याँकेर भित्तामै पुर्याएको भन्दै अब निर्णायक शक्ति बनेर आउने बताए।
उनले थपे, ‘च्याँखे थाप्ने र म्याजिक नम्बर इदर उदर गर्ने पार्टीमा हामी रमाउन चाहेनौँ। हामी १५१ सीट ल्याएर देशको निर्णायक शक्ति बन्छौँ।’







