भाद्र २३ गतेको जेन जेड आन्दोलनको बर्बरतापूर्वक घटनामा मेरो मन मात्र रोएन, आँखाबाट आँसु खसेको पत्तै भएन । दोस्रो दिन अर्थात् भाद्र २४ गतेको त्यो विध्वंसका समाचार/भिडियोहरू सामाजिक सञ्जालमा र ती विध्वंसका मुस्लाहरू घरको छतबाट हेर्दै आँखाबाट आँसु खसेको पनि पत्तै भएन । यी दुबै दिनको अवस्था सिर्जना गर्ने र प्रत्यक्ष/अप्रत्यक्ष संलग्नलाई कानुनको नजरले पक्कै देखेको होला/देख्नुपर्छ/देखिनुपर्छ ।
त्यसपश्चात् करिब एक हप्ता मन बेचैन भयो, शरीर थिरमा रहेन । अब देश नरहने नै भयो भन्ने चिन्ताको कल्पनाबाट बाहिर निस्किएर फागुन २१ गते चुनाव गर्ने गरी चुनावी सरकार गठन पश्चात् आजको अवस्थासम्म देश आइपुगेको छ । चुनाव तोकिएको छ, केही तयारी भएको पनि छ । तोकिएको मितिमा चुनाव हुन्छ या हुँदैन त्यो भन्ने मेरो वशको कुरा रहेन । चुनाव हुनुपर्छ या संसद् पुनःस्थापना त्यो फरक बहसको विषय हो । चुनाव नै हुनुपर्छ मेरो मान्यता हो, तर चुनाव के का लागि भन्ने गह्रुङ्गो प्रश्न खडा नै छ ? यस विषयमा थुप्रै बहस विचारहरू पनि आइसकेका छन् । तत्पश्चात्को देश यहाँसम्म डोहोर्याउनेलाई पनि विशेष साधुवाद छ ।
म एक सचेत नागरिकको हैसियतले पछिल्ला भेटघाटका हरेक शृङ्खलाहरू हेरिरहेको छु । केही दिनदेखि रविको म्याराथुन भेटघाट र बालेनको “किस्ती बसाइँ” ले नेपाली राजनीतिक हलचल नै ल्याइदियो । अस्ति र हिजो राति गरेर दुई वटा सम्झौताहरू भएका छन् । ती सम्झौताका बुँदाहरूमा देश बनाउनेभन्दा व्यक्तिगत अस्तित्व र पदिय भागबन्डाका उधारो सर्तहरू देखिन्छन् । थप व्याख्या र विश्लेषण गर्ने राजनीतिक विश्लेषक पनि परेन । सायद “म” जस्तै आम जनतामा उधारो आशा भने पक्कै रोपिएको छ । त्यो पलाओस्, फुलोस्, फलोस् र जनताले चाख्न पाउन । मेरो आशा र कामना छ । जे होस्, अहिलेलाई दुईवटा “च्याप्टर” सकिए, अरू च्याप्टरहरू बाँकी नै छन् भन्ने लागेको छ ।
तर थोरै दुःख लाग्दो कुरा, कसैलाई देखाइदिन, धुलो चटाउन, सिध्याउन, उखेल्न, बढार्न, पछार्न र हराउनलाई मात्र मिल्ने जस्ता भाष्यहरू सिर्जना भएका मात्र नभई केही अभिव्यक्तिहरू समेत नआएका होइनन् । आशा गरेकाहरूले पनि प्रत्येक दिन, प्रत्येक क्यामेरा अगाडि कोही/कसैको नाममा सत्तोसराप गर्नेबाहेक अरू सुन्न नपाइनु निकै दुःखद कुरा हो । केही चर्चित अनुहारलाई सरापेर चर्चा बटुल्ने उद्देश्यभन्दा फरक नभएको अनुभूति हुन्छ । यो प्रवृत्ति चाँडोभन्दा चाँडो सुध्रिनुपर्छ ।
यहाँ केही व्यक्तिमात्रै त समस्या पक्कै नहोलान् ? समस्या भएका व्यक्तिलाई चुनावमा बढार्ने सार्वभौम अधिकार त हामी जनतामै छ । तर स्मरण रहोस्रा-ज्यका प्रमुख “स्टेकहोल्डर” त फेरि राजनीतिक पार्टी नै हुन् । यो कुरा हामीले बिर्सिनुहुँदैन । अतः कानुनी राज्यमा कुनै एक–दुई व्यक्ति हावी हुनु, बनाउने प्रयास गर्नु वा व्यक्ति बलियो बनाइनु झनै महाघातक सिद्ध हुन सक्छ । लोकतन्त्रको अपहरण भएका त्यस्ता उदाहरणहरू विश्वमा धेरै छन् । यद्यपि, “युक्रेन” अहिलेको अवस्थामा पुग्नुमा कच्चा नेतृत्व “जेलेन्स्की” को “सनक” र भू-राजनीतिक “झनक” को असर हामीसामु छर्लङ्गै छ ।
अर्को महत्वपूर्ण अवस्था-अहिलेको निर्वाचन प्रणाली अनुसार एउटै दलले बहुमत ल्याउन त्यति सजिलो पक्कै छैन । तर फेरि असम्भव भने पक्कै होइन र छैन । तर हाल देखिरहेको परिदृश्यले एउटा दलको बहुमतको आँकलन अहिले नै गर्न सकिएन, पछि फरक माहोल बन्ने “छडी” चलेमा बाहेक । त्यसैले आगामी निर्वाचनपछाडि पनि सम्भावित नयाँ र पुराना दलहरू नमिली देश बनाउन त के, सरकार समेत बनाउन सकस नपर्ला भन्न सकिन्न ।
देश हामी सबैको हो र सबै नमिली अगाडि बढ्न सम्भव हुँदैन र छैन पनि । राम्रो कामका लागि सँगै लैजाने प्रयास गरिनुपर्छ । गलत सोच र प्रवृत्ति भएकाहरू बिस्तारै आफैँ “डाइनोसर” बन्लान् । कुनै कुरा बनाउन, सपार्न सामूहिक प्रयत्न अवश्य चाहिन्छ, भत्काउन, बिगार्न र सिध्याउन थोरै भए पनि पुग्छ । तिनलाई बेलैमा चिन्नुपर्छ, सम्झाउनुपर्छ, नसुध्रे आफैँ बढारिन्छन्, बढार्न पनि पर्दैन ।
बडो दुःखका साथ भन्नुपर्छ, जेन जेड आन्दोलनमा उदाएका दुई–चार जना बाहेक धेरैको राजनीतिक चेत अत्यन्त न्यून देखिन्छ । सँगै अध्ययनको पनि खडेरी देखिन्छ । पछिल्ला केही दिनदेखि केही वा अझ भनौँ कुनै व्यक्तिलाई जबर्जस्ती रूपमा स्थापित गर्ने प्रयत्न भइरहेको जस्तो आभास सायद धेरैलाई भएको हुनुपर्छ । एकजना “काठमेयर” ले ठूला र पुराना दल र तिनका नेतृत्वको “निदहराम” गरिदियो भन्ने चर्चा पनि सुनिन्छ । आफू “सेन्टर प्वाइन्ट” बनेर पूर्व प्रधानमन्त्रीदेखि बहालवाला मन्त्रीलगायतलाई “परिधि” बनाएका थिए ।
यद्यपि, हरेक विद्रोहले नयाँ नेता जन्माउँछ, त्यो सत्य पनि हो । तर बिर्सन नहुने यथार्थ, राजनीतिको आधार राजनीति गर्ने व्यक्तिको चर्चाको परिधि नभई उसले अवलम्बन गरेको मार्गदर्शक सिद्धान्त प्रमुख हो । त्यसैले राजनीतिक स्थायित्व हुन राजनीतिक सिद्धान्त र घोषणापत्र अत्यन्त जरुरी हुन्छ । “पोलिटिकल आइडियोलोजी” र “म्यानिफेस्टो” बिनाको दल र नेतृत्वको चर्चा र अस्तित्व अस्थायी मात्र हो । जब सिद्धान्तको राजनीतिक स्थायित्व हुन्छ तब मात्र विकास र समृद्धिको बाटो खुल्ने हो । पुराना गाली खाइरहेका पार्टीको आफ्नो इतिहास छ, संगठन छ र राजनीतिक सिद्धान्त छ । तर नेतृत्व पुरानो भयो, नेतृत्व परिवर्तन भएन र जनतामा आशाभन्दा निराशा पलायो । नयाँ नेतृत्व परिवर्तनले नै जनतामा नयाँ आशा जगाउने हो । क्षणिक भए पनि जनताले “परिवर्तनवाद” वा “नवीकरणवाद” का सिद्धान्तलाई नै पछ्याउने स्वभाव हुन्छ । यो इतिहासले देखाएको कुरा पनि हो ।
ठूला र पुराना भनिएका दलहरूमा पनि हालसम्म “अनटेस्टेड” र आशालाग्दा धेरै “नयाँ अनुहार” पनि नभएका होइनन्/छन् । केही अनुहारले छोटो समयको जिम्मेवारीमा पनि दीर्घकालीन सुधारका सूत्रपात गरेका पनि हुन् । जस्तो उदाहरण, छोटो अवधि मन्त्रालयको नेतृत्व सम्हालेका “गगन थापा” ले स्वास्थ्य क्षेत्रमा गरेको रणनीतिक सुधारको उपभोग अहिले पनि हामीले गरिरहेका छौँ । यस्तै कयौँ गर्ने प्रयास गरेका अनुहारहरू पनि छन् । अहिले तिनै आशालाग्दा अनुहारमाथि मिडिया ट्रायल धुरन्धर भइरहेको देखिन्छ । यो गलत हो । र आगामी चुनावमा ठूला दलहरूको “भोट बैंक” को “बचत” ती दलहरू सुध्रिनु र नेतृत्व हस्तान्तरणसहितको नयाँ घोषणा हुनु जनताको मनोवैज्ञानिक शर्त हुन सक्छ । कि त सच्चिने छोटो समयको चुनौतीलाई अवसरमा बदल्नुपर्यो, नत्र जनताको शर्त र नयाँको चुनौती स्वीकार गर्नुको विकल्प नहुन सक्छ ।
फागुन २१ को चुनावका लागि च्याउ उम्रेझैँ राजनीतिक पार्टी उम्रेका छन् । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका मध्ये तोकिएको अवधिसम्म १३५ वटा दल दर्ता भएका छन् । यतिबेला मात्र १६ वटा नयाँ दलहरू खोलिएका हुन् । ती सबै दलका अध्यक्ष/सभापति/संयोजक र तिनका पदाधिकारी, केन्द्रीय सदस्य, अन्य संगठित पदाधिकारी, प्रतिनिधि सबै नेता नै भए । यसरी दल र नेताहरूको फ्याक्ट्री उत्पादन भयो भन्दा फरक नपर्ला । पाँच–सात वटा दलहरूको नाम/नेतृत्व बाहेक सबै दलहरूको कुनै स्पष्ट सिद्धान्त सुन्न/थाहा पाउन त के ? ती पार्टीको नाम र नेतृत्वको अनुहार जनताको नजरभन्दा धेरै पर छन् ।
यति भनिरहँदा मेरो मथिङ्गलमा ताजै छ-संविधान लेख्नका लागि भएको २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन “माओवादी” पार्टीको घोषणापत्रभरि रङ्गीन नेपालको नक्सामा केबलकार र रेलका चित्रले जेलिएका थिए । ती पूरा भए कि भएनन् ? भनिरहन परेन । उसको जोस र जनताको आशाको शिखर सगरमाथाभन्दा माथि थियो । सायद “रोडम्याप” नबनाई, “म्याप” मात्र बनाएर पो थियो कि ? त्यसैले अब “म्याप” सँगै “रोडम्याप” पनि हुनुपर्छ ।
नयाँले त देश बन्ने कसरी हो ? बाधा र व्यवधान के हुन् ? हालको करिब दस खर्बको न्यून राजस्वलाई एक्स्पोनेन्सियल वा कम्तीमा दोब्बर, तेब्बर बनाउने कसरी हो ? कुन–कुन ऐन, कानुन र अवस्थाले डेलिभरीलाई रोकेको हो ? के–के राख्ने हो—के–के फाल्ने हो ? के–के फेर्ने हो -के-के नफेर्ने हो ? फेर्नुपर्ने कुरा कसरी फेर्ने हो ? भद्दा र झन्झटिलो “ब्युरोक्र्याटिक” संरचनालाई कसरी चुस्त बनाउने हो ? प्रशासनिक संरचना कसरी पुनर्निर्माण गर्ने हो ? न्याय व्यवस्थालाई कसरी स्वतन्त्र, जनमुखी र द्रुत बनाउने हो ? भू-राजनीतिलाई कसरी सन्तुलित गर्ने हो ? देशभित्रै रोजगारी सिर्जना र त्यसको स्रोत कसरी जुटाउने हो ? युवालाई देशमै रोक्न सकिने अल्पकालीन र दीर्घकालीन योजना के–के हुन् ? … आदि आदि जस्ता रणनीतिक मुद्दा, तथ्य, तथ्याङ्क, स्रोत, साधन र कार्यक्रम पो प्रस्तुत हुनुपर्ने हो । त्यो बिल्कुल छैन र छनक पनि देखिँदैन ।
“नेगेटिभिटी” जहिल्यै बलियो हुन्छ । एक थोपा जहरले केही लिटर अमृतलाई सजिलै जहर बनाइदिन्छ । र त्यो अमृत पूरै जहर बन्छ । केही व्यक्ति वा शक्तिहरूको अगाडि शुद्ध दूध पिउने अभूतपूर्व अवसर उभिएको छ । सधैँ यस्तो अवसर नआउन पनि सक्छ । यद्यपि दूध उमाल्न बाँकी नै छ, सुरुमा त उम्लिएर नपोखियोस् । त्यसपछि पनि कहीँ–कतै दुई–चार थोपा विष परेर कयौँ लिटर बर्बाद नबनोस् । अझ भनौँ, एक छिटा थुकले २७५ लिटर दूध जुठो नहोस्, बेकार नहोस् । यसमा उच्च सचेत रहनुपर्ने बेला हो यो ।
अन्यथा नलागोस्, कसैले सामाजिक सञ्जालमा हालका चर्चित दुई पात्रको बारेमा टिप्पणी गरेको कुरा घत लागेको थियो र याद आयो -“एउटाले घाटीको नसा नै फुट्ला झैँ गरी रुद्रघण्टी बजाइरहन्छ र अर्को चाहिँ बरु ‘हर्क’ को ढुङ्गो बोल्ला तर ऊ बोल्दैन ।” यो भनाइले पात्रहरूको विपरीत ध्रुवीय चरित्र देखाउँछ । यो व्यवहार सुधारेको भए हुन्थ्यो भन्ने धेरैलाई लागेको हुनुपर्छ ।
नयाँ होस् वा पुरानो, जुनसुकै होस्, सबैले “झोला” त बोकेकै हो नि । नयाँ “झोली” बोक्दैमा त्यो “डोली” पनि त हुँदैन । उसरी झोले भन्ने पनि त झोले नै हो । अतः अब त्यसरी झोले भनेर गाली गर्नेभन्दा पनि हामी त्यसभन्दा राम्रो गर्छौँ भन्ने बेला हो । नयाँले यसअघि अरू कसैलाई बुझाउँदै गरेको लेबी आफूतिर फर्काउने हो । पुरानाहरूले आफ्नो “लेबी” बचाउने हो । र नयाँ–पुराना सबैका लागि सभ्य, भव्य, सकारात्मक, योजनाबद्ध र संगठित रूपमा सम्हालिनुपर्ने उचित समय हो ।
अन्त्यमा र फेरि पनि, देश एउटा व्यक्तिले बिगार्न सक्छ तर बनाउन सिङ्गो सिस्टम नै राम्रो र प्रभावकारी बन्नुपर्छ । स्मरण रहोस्गा-डीको एउटा मात्र पुर्जा बिग्रिए गाडी रोकिन्छ । चाहे ड्राइभर सिटमा जस्तोसुकै अनुभवी, जोसिलो र सिपालु ड्राइभर नै किन नहोस्, गाडी त्यही अवस्थामा चल्न सम्भव हुँदैन । कतै जबर्जस्ती चलाएमा दुर्घटना निश्चित हुन्छ । त्यसैले चल्नलाई सबै पुर्जाले काम गर्नुपर्छ । पूरा सिस्टमले काम गर्नुपर्छ । अर्थात् विधिको शासनभित्र नै, अनुभवी र कुशल शासक चाहिन्छ ।







