काठमाडौँ । गृह मन्त्रालयले चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकन नतिजाअनुसार कुल २९.२५ पूर्णाङ्कमध्ये मनाङले २८.७५ अंक प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमध्ये पहिलो स्थान हासिल गरेको हो। ग वर्गका जिल्लामध्ये मनाङ शीर्ष स्थानमा रहँदा, ग वर्गकै जिल्ला प्रशासन कार्यालय रसुवाले २८.६८७५ अंकसहित दोस्रो स्थान हासिल गरेको छ।
त्यसैगरी, ख वर्गका जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय धनकुटाले २८.५ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ भने ख वर्गकै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २८.३७५ अंकसहित चौथो स्थान प्राप्त गरेको छ। यस्तै, ख वर्गकै जिल्ला प्रशासन कार्यालय पर्वतले २८.३१२५ अंक प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको छ भने क वर्गका जिल्लातर्फ जिल्ला प्रशासन कार्यालय ललितपुरले २८.२५ अंकसहित छैटौँ स्थान प्राप्त गरेको छ।
उत्कृष्ट नतिजा हासिल गर्ने जिल्ला प्रशासन कार्यालय मनाङको नेतृत्व प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले गरिरहेका छन्। इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख रहेका उपसचिव पौड्याललाई गृह मन्त्रालयले भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो। मनाङ उपसचिवस्तरको प्रमुख जिल्ला अधिकारी रहने जिल्ला हो।
अष्ट्रेलियन नेशनल युनिभर्सिटीका गोल्ड मेडलिष्टसमेत रहेका पौड्याल गृह प्रशासनका गतिशील र परिणाममुखी युवा अधिकारीका रूपमा चिनिन्छन्। गृह मन्त्रालयसँग गरिएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरू पूर्ण रूपमा कार्यान्वयन भएको तथ्य मन्त्रालयकै मूल्यांकन नतिजाले पुष्टि गरेको उनले बताएका छन्। साथै, अहोरात्र खट्दै आएका जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीसहित जिल्लास्थित सबै कार्यालयहरूको सामूहिक प्रयासको नतिजा भएको प्रजिअ पौड्यालले उल्लेख गरेका छन्।
हिमाली जिल्ला मनाङमा केही महिना अघि हिमपातका कारण प्रभावित जनजीवन सहज बनाउने तथा आन्तरिक र बाह्य पर्यटकहरूको उद्धार कार्यमा उनले खेलेको भूमिकाको व्यापक प्रशंसा भएको थियो।
यसैबीच, सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी रहने जिल्ला प्रशासन कार्यालय धनकुटामा विनोद कुमार खड्का प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन् भने ललितपुरमा प्रेम प्रसाद भट्टराई कार्यरत छन्। भट्टराई कार्तिक १२ गतेदेखि जिम्मेवारीमा आएका हुन्। यसअघि सुमन घिमिरे भदौ ५ गतेदेखि कार्तिक ११ गतेसम्म छोटो अवधिका लागि प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। घिमिरेअघि रमेश ढकालले २०८१ कार्तिक १२ गतेदेखि २०८२ भदौ ३ गतेसम्म ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए।
गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका सूचक र मापदण्डका आधारमा नियमित रूपमा कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ।
हेर्नुहोस् पुरा विवरण
*थप अपडेट गरिएको -सम्पादक







