काठमाडौँ । चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ ।
कैलालीको त्रिनगर नाका हुँदै दिनहुँ ठुलो सङ्ख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो । उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन् ।
त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन् ।
“नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घर खर्च धान्न पनि धौधौ पर्दछ,” अछामको रामारोशनका मङ्ल परियारले भने, “भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौँ ।”
त्यस्तै सोही नाकाबाट मुम्बई तर्फ लागेका चुरे गाउँपालिकाका झलक साउदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फर्किन लागेको बताए। सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका सर्वसाधारण मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पन्जाब, अहमदाबाद लगायतका ठुला सहर जाने गर्छन् ।







