काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन जेड आन्दोलन क्रममा एनसेलमा भएको क्षतिसम्बन्धी समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार एनसेलको कार्यालय तथा डेटा सेन्टरको अवलोकन गर्दै सञ्चार मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग सम्बन्धित समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताएका हुन् ।
‘केही नीतिगत समस्या छन्, केही विवाद पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार छ,’ सञ्चार मन्त्री खरेलले भने ।
मन्त्री खरेलले एनसेलको सेयर सम्बन्धी विवाद, भुक्तानी दायित्व लगायत सबै विवाद चाँडो समाधान गरिनुपर्नेमा जोड दिए ।
‘राज्य र नागरिकको नजरमा एनसेलको बिजनेस सम्मानित हुनुपर्यो, जति पनि विवाद छन्, तिनको समाधान गरेर क्लिन बिजनेस र सर्भिस दिनेतर्फ केन्द्रित हुन आग्रह गर्दछु,’ खरेलले भने, ‘क्लिन बिजनेसका लागि सरकारको साथ र सहयोग रहन्छ ।’
मन्त्री खरेललाई एनसेल कार्यालयमा अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत (सिइओ) माइकल फोलेले स्वागत गरेका थिए । त्यस क्रममा एनसेलले जेन जेड आन्दोलनमा भएको क्षतिबारे जानकारी गराएको थियो ।
२४ भदौमा भएको जेन जेड आन्दोलन क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एनसेलले नख्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।
एनसेलका अनुसार करिब ६५ करोड बराबर क्षति भएको थियो । अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताए । एनसेलले जेन जेडलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको पनि मन्त्री खरेलले उल्लेख गरेका छन् ।
उनले एनसेलमा ठूलो क्षति भएको उल्लेख गर्दै सरकारबाट हुन सक्ने सहयोगका लागि तयार रहेको समेत बताएका छन् ।







