काठमाडौँ । रुपन्देहीस्थित राजस्व अनुसन्धान र भन्सार कार्यालयलाई अनुसन्धानका नाममा दुःख नदिन उद्योगी व्यवसायीले आग्रह गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा सहभागीले राजस्व छलेको आधारबिनै अनुसन्धान गर्ने नाममा दुःख नदिन अनुरोध गरेका छन् ।
स्थानीय व्यवसायी देवराज बेल्बासेले कर्मचारीको मिलेमतो बिनाचोरी तस्करी सम्भव नहुने बताए ।
बिचौलियाका कारण राजस्व चुहावटले प्रश्रय पाइरहेको उनले बताए । आफ्नै कार्यालयभित्र हुने गरेका बेथितिबारे प्रमुखलाई जानकारी नहुँदा सेवाग्राही पीडित बनिरहेको उनले बताए ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले खुला सिमाना भएका कारण जिल्लामा धेरै समस्या भएकाले तिनलाई सल्टाउनतर्फ राजश्व र भन्सार कार्यालय लाग्नुपर्ने बताए ।
जिल्लास्थित आर्थिक क्षेत्रमा गलत काम भइरहेको महसुस सबैले गर्ने तर, सरकारी निकायले त्यसबारे पत्तो नपाउने समस्या रहेको उनले बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु शर्माले बेलहिया नाकास्थित भैरहवा भन्सार कार्यालयबाट के सुविधा पायौं/पाएनौँ भन्नेबारे व्यवसायी नै स्पष्ट नरहेको बताए ।
भन्सारले प्रदान गर्ने सेवा/सुविधाबारे स्थानीय सरकारले पनि व्यवसायीलाई जानकारी गराउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले उद्योगी व्यवसायीले लामो समयदेखि सरकारी निकायमा हाबी बिचौलिया प्रवृत्ति अन्त्यका लागि आवाज उठाउँदै आए पनि सुनुवाइ नभएको बताए ।







