डोल्पा । अत्यधिक चिसो र कडा हिमपातका कारण डोल्पामा पाँच जना नेपाल प्रहरीका सदस्यको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि नेपाली सेनाले हवाई मार्गबाट सफल उद्धार गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण हुने क्रममा ती प्रहरीहरू बाटोमै परेको तीव्र हिमपात र चिसोपनका कारण अस्वस्थ बनेपछि प्रहरी चौकी ‘धो’ मा बिरामी अवस्थामै रोकिएका थिए।

स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर खटाइएको थियो।
शुक्रवार सेनाको हेलिकोप्टरद्वारा दुई चरणमा पाँचै जना प्रहरीलाई उद्धार गरी थप उपचारका लागि सुर्खेतको कर्णाली प्रदेश अस्पताल पुर्याइएको निर्देशनालयले जनाएको छ ।







