काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जेन जेडका नाममा एमाले विरोधीहरूले भन्दैमा पार्टी नेतृत्वबाट केपी शर्मा ओलीलाई नहटाउने प्रस्ट पारेका छन् ।
एमाले ओखलढुंगा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले जेन जेड वा अरूले भनेर होइन पार्टीको आवश्यकता आधारमा ओलीको नेतृत्व निर्धारण हुने बताए ।
जेन जेड आन्दोलनबाट विस्थापित सरकारको प्रवक्ता समेत रहेका गुरुङले भने, ‘एमालेका वडादेखि केन्द्रसम्मका नेता कार्यकर्ताका घर खोजी खोजी ध्वस्त पारिएको छ । यो भनेको नेपालको कम्युनिस्ट आन्दोलन क्षतविक्षत बनाउने, एमालेका नेता कार्यकर्ताको सामूहिक नरसंहार गर्ने योजनाबाट भएको थियो । अहिले ओलीको कार्यशैलीको बारे टिप्पणी हुन्छ, ओलीको कार्यशैलीको सबैभन्दा आलोचक त मै हो नि १ तर जेनजी भनेर ओली हटाउनुपर्छ भन्दै छन्, जेनजीले भनेर हटाउने हो कि हाम्रो आवश्यकता वा अनावश्यकताले नेता हटाउने हो रु एउटा कुरा हेक्का राखौँ, हामीले आफ्नो लागि काम गरौँ केपी ओलीको लागि होइन । केपी ओलीले स्वाधीनताको पक्षमा उभिएबापत देशले सजाय पाउने हो ?’
उपमहासचिव गुरुङले एमालेले माटोको माया गर्दा, एक इन्च पनि भूमिको माया गर्दा, राष्ट्रिय स्वाभिमानलाई सबैभन्दा ठुलो मान्दा जेन जेड आन्दोलनका नाममा हमला भएको दाबी गरे । उनले कार्यकर्तालाई बहकिएर होइन यथार्थको धरातलमा उभिएर सोच्न आग्रह समेत गरेका छन् ।







