काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात अभिवृद्धिका लागि कार्यविधि ल्याएको छ ।
मन्त्रालयले मासु निर्यात अभिवृद्धिका लागि राँगा वा भैँसी प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि २०८२ कार्यान्वयनमा ल्याएको हो ।
मन्त्रालयको तयार पारेको उक्त कार्यविधि यही कात्तिक १२ गते बसेको मन्त्रीपरिषद् बैठकले कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । मन्त्रालयले उक्त कार्यविधि बिहीबारदेखि कार्यान्वयनमा ल्याएको छ ।
उक्त कार्यविधि अनुसार अब नेपालबाट विभिन्न मुलुकमा व्यावसायिक रूपमा मासु निर्यात गर्न सकिने भएको छ । कार्यविधि बमोजिम मासुका लागि पाठा वा पाडी खरिद तथा ढुवानी, गोठ निर्माण सुधार र घाँस बाली तथा आहारा व्यवस्थापन, पशु पहिचान तथा अभिलेखीकरण क्रियाकलाप सञ्चालन गरिनेछ ।
कार्यविधिअनुसार मासुका लागि पाडा वा पाडी खरिद तथा ढुवानीको हकमा प्रस्तावको कूल लागतको अधिकतम ५० प्रतिशतसम्म खर्च गर्न सकिने व्यवस्था गरिएको छ । पाडा वा पाडी खरिद गर्दा उपलब्ध भएसम्म सरकारी वा निजी स्रोत केन्द्रहरूबाट खरिद गर्नु पर्नेछ । साथै पाडा वा पाडी खरिद गरेको अवस्थामा अनिवार्य रूपमा पशु बीमा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यो कार्यक्रम कार्यालय मार्फत सञ्चालन हुनेछ र स्वीकृत वार्षिक कार्यक्रममा उल्लेख भए अनुसारको जिल्लाहरू यो कार्यक्रमको कार्यक्षेत्रको रूपमा रहने छन् ।
कार्यविधि बमोजिम स्वीकृत भएको प्रस्ताव अनुसार क्रियाकलाप सञ्चालन गर्न कूल लागत अनुमानको बढीमा ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।







