काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले माओवादी र नेकपा एससहित ९ दलसहित बन्ने एकीकृत पार्टीको चुनाव चिन्ह पाँच कुने तारा राख्न खोजेको भन्दै आपत्ति जनाएको छ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै पाँच कुने तारा अन्य राजनीतिक दलको चुनाव चिन्ह हुने कुरा मान्य नहुने बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारालाई अन्य कुनै राजनीतिक दलले आफ्नो चुनाव चिन्ह दाबी गर्ने सम्बन्धी सार्वजनिक सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
जसपा नेपालले झण्डामा प्रयोग गरी आएको पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न हुन आग्रह गर्दै निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ।
९ दलबीचको एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह सेतो पृष्ठभूमिमा रातो पाँच कुने तारा राख्ने तयारी गरेको छ।







