काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई लिएर सरकारको चर्को आलोचना गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले उनको स्टाटसमा कडा टिप्पणी गरेका छन्। बालेनको टिप्पणीले सामाजिक सञ्जालमा नयाँ तरंग ल्याएको छ।
प्रचण्डले सामाजिक सञ्जालमा लेखेका थिए, “सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन जारी छ।”
यसको जवाफमा बालेनले कटाक्षपूर्ण शैलीमा टिप्पणी गर्दै लेखे, “एकादेशमा टिकटकमाथि पनि प्रतिबन्ध लगाइएको थियो। हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिएँ, काम हजुरबाट पनि केही भएन कमरेड मलाई एक दिन दिएको भए म काठमाडौँको खोला-नाला फेर्थे ”
बालेनको यो टिप्पणीले प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको प्रसंगलाई उजागर गरेको छ। साथै, उनले काठमाडौँको नाला सफा गर्ने जिम्मेवारी आफूलाई दिइएमा एकै दिनमा परिवर्तन ल्याउने दाबी गरेका छन्। बालेनको यो भनाइले प्रचण्डको सरकारको कार्यकालमा भएका कमजोरीहरूलाई संकेत गर्दै वर्तमान सरकारको सामाजिक सञ्जाल नीतिमाथि पनि प्रश्न उठाएको छ।
यो घटनाले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको छ। प्रचण्ड र बालेनको यो जुहारीले राजनीतिक वृत्तमा नयाँ तनाव र चर्चा पैदा हुने देखिएको छ। बालेनको टिप्पणीले काठमाडौँको पूर्वाधार सुधार र सामाजिक सञ्जाल नीतिमा थप छलफलको माग गरेको छ।







