काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थबीच कार्यसम्पादन सम्झौता भएको छ । मन्त्रालयमा बिहीबार कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो ।
सम्झौता कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले नीतिगत सुधार मात्र पर्याप्त नहुने उल्लेख गर्दै सो सुधारको प्रत्यक्ष प्रभाव नागरिकले तल्लो तहसम्म अनुभूत गर्न पाउनु जरुरी रहेको बताएकी छन् ।
जनताको सन्तुष्टि नै वास्तविक मूल्यांकनको आधार भएको भन्दै उनले सेवा प्रवाह परिणाममुखी हुनुपर्नेमा जोड दिइन् । मन्त्री न्यौपानेले सम्पूर्ण संरचनालाई नागरिक-केन्द्रित दृष्टिकोणमा अघि बढ्न निर्देशन दिएकी छन् ।
मन्त्री न्यौपानेले मन्त्रालयले अघि सारेका सुधारात्मक नीति तथा कार्यक्रमलाई द्रुत कार्यान्वयन गरेर नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा दिन सम्बन्धित निकायलाई निर्देशन दिइन् ।
अबको प्राथमिकता शक्तिशाली प्रशासनिक संरचना, विवादरहित सरुवा प्रणाली र सेवाग्राहीमैत्री सेवा प्रवाह हुने उनले बताइन् ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै सचिव पन्थले मन्त्री न्यौपानेले औँल्याएका चुनौती र प्राथमिकतालाई सम्बोधन गर्न ठोस कार्ययोजना तयार गरी मन्त्रालयले थप जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







