काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेश सचिव विक्रम मिस्रीले भारत भ्रमणको निम्तो दिएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ।
यद्यपि, परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमण भने सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री ओली भदौ ३१ गते औपचारिक भारत भ्रमणमा जाने गरी दुबै देशले अनौपचारिक तयारी गरिरहेका छन्।
आइतबार काठमाडौँ आइपुगेका विदेश सचिव मिस्रीले सिंहदरवारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेश सचिव मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार त्यसअघि प्रधानमन्त्री ओली चार दिने भ्रमणमा चीन जान लागेका छन्।







