काठमाडौँ । पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परी बेपत्ता भएका मधुवन नगरपालिका-१ का १९ वर्षीय रूप मिलन थारुको शव भेटिएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका-९ मध्यवर्ती क्षेत्रस्थित कर्णाली नदीको सहायक भँगालोमा पौडी खेल्नेक्रममा बेपत्ता भएका उनको शव घटनास्थलदेखि करिब साढे २ किलोमिटर पर घोप्टो परेको अवस्थामा फेला परेको हो।
गोठालाहरूले शव भेटेपछि स्थानीयमार्फत प्रहरीलाई खबर गरेको खाता सामुदायिक वन समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङले जानकारी दिए। साउन २० गते पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा थारु बेपत्ता थिए। बाबुले मृतकको पहिचान गरेका छन्। मृतकको शव क्षत विक्षत अवस्थामा रहेको अध्यक्ष गुरुङको भनाई छ।
मृतक थारु त्रिभुवन मावि मधुवनबाट भर्खर मात्र १२ कक्षा पास गरेका थिए। शव भेटिएको स्थानमा प्रहरीले बेपत्ता भएदेखि नै थारुको खोजीका लागि सुरक्षाकर्मी, बर्दिया राष्ट्रिय निकुञ्ज एवम् स्थानीयले बोट एवम् हात्तीमार्फत खोजतलास गर्दै आएका थिए। शव पोस्टमार्टमको लागि बर्दिया अस्पताल गुलरिया पुर्याइएको प्रहरीले जनाएको छ।







