काठमाडौँ । संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफल गर्ने कार्यसूची छ ।
यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुने संघीय संसदका सचिवालयले जनाएको छ ।
यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।







