काठमाडौँ । सगरमाथा आरोहणमार्फत कर्णाली र स्पेनबासी नेपालीको गौरव बढाएको भन्दै समाजसेवी तथा व्यवसायी अक्कल बोहरालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले विशेष सम्मान प्रदान गरेको छ।
बुधबार सम्पन्न एनआरएनए स्पेनको नवौँ राष्ट्रिय महाधिवेशनको विशेष समारोहमा बोहरालाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र विशेष अतिथि स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले उनलाई सम्मान पत्र प्रदान गर्दै हौसला व्यक्त गरे।
सम्मान पत्रमा उल्लेख गरिएको छ, ‘अद्वितीय साहस, अठोट र परिश्रमले सगरमाथा सफलतापूर्वक आरोहण गरी आफू र समग्र कर्णाली प्रदेशलाई विश्वसामु चिनाउनुभएको तथा स्पेनबासी नेपाली समुदायलाई गौरव गर्ने अवसर गराइदिनुभएकोले उच्च सम्मान प्रदान गरिएको हो।’
सम्मान ग्रहण गर्दै अक्कल बोहराले भावुक हुँदै आफ्ना बाल्यकालका कठिन संघर्ष सुनाए।‘म ५-६ वर्षको उमेरमा अर्काको घरमा बसेर काम गर्नु पर्ने बाध्यता थियो,’ उनले भने, ‘कुनै दिन मिठो गुलियो खान मन लागेमा पशुपतिमा लगेका लासमा चढाएका पैसा संगालेर चकलेट किनेर खानु पर्ने अवस्था थियो।आज त्यहीँबाट सगरमाथाको चुचुरोमा पुगेर तपाईँहरू माझ यसरी बोल्न पाउँदा धेरै खुसी लागेको छ।’
उनले थपे,‘मेरो जीवनको कथाबाट बुझ्न सकिन्छ कि जीवनमा मेहनत गरे सबै सम्भव छ। तपाईँहरू पनि कहिल्यै मेहनत गर्न नछोड्नुहोस्।यो सम्मान र हौसलाले मलाई अझ समाजमा धेरै गर्न प्रेरित गरेको छ। म आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने प्रण गर्दछु।’
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका-१३ स्थित थार्प गाउँमा जन्मिएका बोहरा हाल स्पेनको अलिकान्तेमा बसोबास गर्दै आएका छन्। पूर्व म्याराथन धावक समेत रहेका उनी समाजसेवा र व्यवसायमा सक्रिय छन्। २०२५ मे १९ तारिख बिहान ८स्५८ बजे उनले सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए।







