काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगी तथा व्यवसायीलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको बजार मूल्य तत्काल पुनरावलोकन गरी उपभोक्तालाई राहत पुग्ने गरी समायोजन गर्न निर्देशन दिएकी छन्।
मन्त्रालयमा सोमबार आयोजित छलफलमा निजी क्षेत्रका विभिन्न छाता संगठनका पदाधिकारी तथा प्रतिनिधिहरूसँग संवाद गर्दै मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको सन्दर्भमा त्यसको प्रभाव नेपाली बजारमा पनि देखिनुपर्ने बताइन्। उनका अनुसार विश्व बजारमा आएको मूल्य परिवर्तनअनुसार स्वदेशी बजारमा पनि उचित मूल्य निर्धारण आवश्यक छ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ तथा चामल, दाल र तेल व्यवसायी महासंघका प्रतिनिधिहरू सहभागी थिए। सो अवसरमा निजी क्षेत्रले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या तथा सुझाव मन्त्रालयसमक्ष प्रस्तुत गरेको थियो।
व्यवसायीका धारणा सुनेपछि मन्त्री यादवले उच्च बजार मूल्यका कारण आम उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै मूल्य समायोजनमा अनावश्यक ढिलाइ नगर्न आग्रह गरिन्। उनले नुन, तेल, चामल, हरियो तरकारीलगायत अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउँदै बजारको वास्तविक अवस्थाअनुसार मूल्य घटाउन व्यवसायीलाई निर्देशन दिइन्।
मन्त्री यादवले उपभोक्तामैत्री बजार प्रणाली कायम गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको समेत विशेष चासो रहेको बताइन्। मन्त्रालयका अनुसार बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले मूल्य समायोजन तथा उपभोक्तालाई राहत पुग्ने उपायमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







