काठमाडौँ । बाँकेको कर्णाली विकास बैंकको घोटाला प्रकरणमा १०९ जनाविरुद्ध मुद्दा दायर भएको छ।
बुधबार सरकारी वकिलको कार्यालय बाँकेले ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बिगो माग गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास बाँकेमा मुद्दा दायर गरेको हो।
सूचना अधिकारी (शाखा अधिकृत) बल बहादुर विष्टका अनुसार १०९ जनामध्ये चार जना पक्राउ परेका छन्। दुई जना मृतक र बाँकी फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।
मृत्यु भइसकेकाहरूमा राप्ति पोलिमर्स प्रालिका सञ्चालक महेशजंग थापा र बैंकका तत्कालीन धर्मचारी धनन्जय कश्यप रहेको विष्टले बताए ।
पक्राउ पर्नेमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, तत्कालीन वित्त अधिकृत वेदप्रकाश सिंह ठकुरी, सञ्चालक समिति अध्यक्ष पशुपति दयाल मिश्र र नेपाल राष्ट्र बैंकका अनुगमन अधिकृत भुवन बस्नेत छन्।
उनीहरू सबै जनाविरुद्ध सरकारी वकिलले बैंकिङ कसुरमा मुद्दा दायर गरेको हो।







