काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र मितव्ययी बनाउनका लागि विभिन्न सरकारी निकायहरूलाई ९५ बुँदे विस्तृत मार्गदर्शन पठाएको छ।
विनियोजन ऐन, २०८२ बमोजिम विनियोजित बजेटको खर्च, लेखा व्यवस्थापन तथा प्रतिवेदन पेस प्रक्रियामा अनुशासन कायम गर्न निर्देशन दिँदै मन्त्रालयले सार्वजनिक खरिदसम्बन्धी बोलपत्र नेपाली भाषामै तयार पार्नुपर्ने व्यवस्था समेत समेटिएको मार्गदर्शन अघि सारेको हो।
अर्थ सचिव घनश्याम उपाध्यायले जारी गरेको उक्त मार्गदर्शनले बजेट कार्यान्वयनका सबै पक्षहरू समेटेको छ। यसमा अख्तियारी प्रयोग, कार्यक्रम स्वीकृति प्रक्रिया, बजेट बाँडफाँट, अन्तर(सरकारी वित्तीय हस्तान्तरण, खरिद प्रक्रिया, आयोजना कार्यान्वयन, खर्चमा मितव्ययिता, पारदर्शिता, अनुगमन र मूल्यांकनजस्ता महत्त्वपूर्ण विषयहरू समावेश छन्।







