काठमाडौँ । राष्ट्रिय भूमि आयोग दार्चुलाले विगतका समिति र कार्यदलबाट बाँकी रहेका शैल्यशिखर नगरपालिका–६ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।
आज आयोजित एक कार्यक्रममा ४५ जनालाई पुर्जा वितरण गरिएको आयोगका जिल्ला अध्यक्ष लालसिंह धामीले जानकारी दिए। शैल्यशिखर नगरपालिका-६ का ४५ जनालाई २९४ रोपनी जग्गाको पुर्जा वितरण गरिएको उनले बताए ।
नापी कार्यालय प्रमुख टीकेन्द्रसिंह धामीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्यविधि, २०७८ अनुसार जग्गाको नापजाँच, फिल्ड मुचुल्का, राजस्व संकलनलगायत प्रक्रिया पूरा गरेर पुर्जा वितरण गरिएको बताए । जग्गाबापत रु सात लाख ३८ हजार ५४ राजस्व संकलन गरिएको उनले जानकारी दिए ।
मालपोत कार्यालय प्रमुख लक्ष्मीदत्त विष्टले यसरी प्राप्त जग्गा १० वर्षसम्म बिक्री गर्न नपाउने बताए । यस वडामा ३१५ अव्यवस्थित बसोबासी रहेको भनिए पनि ८२ जनाको मात्र निवेदन संकलन गरिएको थियो । जसमध्ये ४५ जना अव्यवस्थित बसोबासीले मात्र राजस्व बुझाएको विष्टले बताए ।
कार्यक्रममा शैल्यशिखर नगर उपप्रमुख शान्ति खडायतले नगरक्षेत्रभित्र बाँकी रहेका अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीलाई आयोगसँगको समन्वयमा छिट्टै जग्गाधनी पुर्जा वितरण गरिने बताए ।
जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले विगतमा पनि जग्गाविहीनलाई सेतो पुर्जामार्फत जग्गाको स्वामित्व प्रदान गरिएको बताए ।
आयोगले यसअघि जिल्लाको दुहु गाउँपालिकामा १८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकेको छ ।







