काठमाडौँ । प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद लामाले हिमताल फुटेर आएको पहिरोका कारण स्थानीय जोखिममा रहेका भन्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । अठार परिवारका ३२ जना हाल नजिकैको बारीमा त्रिपालको सहारामा बसिरहेको उनले सदनलाई जानकारी दिए ।
“पहिरोपीडिहरु असाध्यै अप्ठ्यारो र त्रसित अवस्थामा छन्”, सांसद लामाले भने, “उनीहरूको तत्काल उद्धार गर्दै उक्त स्थानमा सरकारले निरीक्षण, संरक्षण र आवश्यक राहत उपलब्ध गराउन ध्यानाकर्षण गराउँछु ।”
तिलगाउँमा यही जेठ १ र २ गते गएको पहिरोले १८ परिवार जोखिममा रहेका छन् । यही जेठ १ गते मध्यराति गएको पहिरोबाट १८ परिवार जोखिममा रहेका बताइएको छ । सांसद लामाले हिमाल नजिकका बस्तीहरू दैवी प्रकोपको जोखिममा रहेकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।