काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाधार विकास कार्यालयका प्रमुखविरुद्धको भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च अदालत पुगेको छ ।
विशेष अदालतको फैसला विरुद्ध चित्त नबुझेको भन्दै पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन समेतका प्रतिवादीहरूको मुद्दा लिएर अख्तियार सर्वोच्च पुगेको हो ।
शारदा नगरपालिका, वडा नं. १५ स्थित सुन्दर डाँडा-थाङ्नेखोला सडक निर्माण कार्यमा सम्झौता बमोजिमको सडक हुन नसकेको, निर्मित सडकमा सवारी साधन सञ्चालन हुन नसकेको र फिल्डमा भए गरेको कार्य लुकाई छिपाई नभए नगरेको कुरा देखाई बढी मूल्यांकन गरी नापी किताबमा चढाई अन्तिम बिल भुक्तानीको लागि गलत नापी किताब, उपभोक्ता समितिको बिल तथा कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी रु.७,१४,०४१।०९ बराबरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको अख्तियारको दाबी थियो ।
तर विशेष अदालतले २०८० फागुन १५ गते उक्त मुद्दामाथि फैसला गर्दै सफाई दिएको थियो ।
आज उक्त फैसलाउपर सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारका प्रवक्ता राजेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।