काठमाडौँ । नेपाली काँग्रेसका सांसद बिमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले बेहोरेको बताए ।
राजाहरूले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ छ । राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको उनले जिकिर गरेका छन् ।
‘हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन, नेपालमा हामीले संघीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोग गर्नका लागि ल्याएका छौँ । नेपालमा हामीले थरथरीका राजतन्त्र हेरिसकेका छौँ,’ निधिले अघि भने, ‘पृथ्वीनारायण शाहको राजतन्त्रको मोडल पनि हेरेका छौँ, त्रिभुवन राजाको मोडल पनि हेरेका छौँ । बालक ज्ञानेन्द्रको राजतन्त्रको मोडल पनि हेरेका छौँ । त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटक अधिकार खोसेर गरेको मोडल पनि हेरेका छौँ । राजतन्त्रको दुष्परिणाम त हेरिसकेका छौँ ।’
विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गरे ।
‘राजनीतिको उन्नत प्रणाली गणतन्त्र ल्याएको छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलहरू प्रतिबद्ध छौँ र कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन, त्यो अवस्था छैन । जनताले कुनै पनि मोडलको राजतन्त्र चाहेको छैन । यसका लागि हामी जे पनि गर्न तयार छौँ,’ उनले भने ।







