काठमाडौँ । उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका एकलकाँटे र सरकारलाई नटर्ने व्यवहारबारे माओवादी पार्टीका नेताहरू पनि भुक्तभोगी रहेको भन्दै राजनीति प्रेरित कुरा नगर्न सुझाव दिएका छन् ।
घिसिङमाथि सरकारले सोधेको स्पष्टीकरणबारे विपक्षी दलका सांसदहरुले संसदमा मागेको स्पष्टीकरणको जवाफ दिने क्रममा मन्त्री खड्काले काँग्रेस र माओवादी मिलेरै चुनाव लडेकाले कुलमानको बारेमा विभाजित हुन आवश्यक नरहेको बताए ।
खड्काले भने- सरकार फेरिएर गठबन्धन फेरिएर भन्ने होइन । म पनि सङ्खुवासभामा काँग्रेसका जिल्ला सभापति थिएँ । तपाईँहरू र हामी मिलेर चुनाव लडेका हौँ । हामीलाई जिताउँदा तपाईँहरूका पनि हात गले होलान् । तर हाम्रो त तपाईँहरूलाई जिताउन भनेर बोक्दा बोक्दा गलेको ढाड सोझिएकै छैन । त्यसैले तपाईँहरू र हामीबीच कता कता माया छ ।
मन्त्री खड्काले कुलमानले सरकारलाई अटेर गरेको,कुनै पनि आयोजनाको पारदर्शी हिसाब नदेखाएको र जे पनि गर्छु भन्ने दम्भ देखाएको बताए । उनले नेपालमा लोडसेडिङ अन्त्य कुलमानले गरेको नभई भारतसँग बिजुली किन्ने सम्झौता गर्ने तत्कालीन केपी शर्मा ओली सरकार र बिजुली दिने भारत सरकारले लोडसेडिङ अन्त गरेको बताए ।
एउटा कर्मचारीलाई लिएर दलीय विभाजित नहुन समेत उनले आग्रह गरे ।