काठमाडौँ । ठमेलमा ड्युटी खटिएको प्रहरीलाई कुट्ने गोपालबहादुर शाहीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । २४ माघको राति प्रहरी कुटेर फरार रहेका शाहीले आत्मसमर्पण गरेका हुन् ।
आत्मसमर्पण गरेका शाहीलाई पनि ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
योसँगै प्रहरी कुटपिटमा संलग्न रहेर पक्राउ पुर्जी जारी भएका ६ जनामध्ये चार जना प्रहरी हिरासतमा पुगेका छन् । यसअघि गत बिहीबार साँझ नयाँ बानेश्वरबाट परिसरको टोलीले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई पक्राउ गरेको थियो ।
त्यसभन्दा अघि ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका-५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।
पक्राउ पुर्जी जारी भएका नवीन ऐरी र सौजन्य शाही भने अझै फरार छन् । पक्राउ परेका सबैजनाविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ ।







