काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खने छुट अब नभएको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी तीनवटै पार्टी र नेतृत्वमा रहेकाहरूबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागी हुनु भएको टिप्पणी गरे ।
‘अब पनि त्यही एमाले, त्यही माओवादी, त्यही काँग्रेस र तीनै अनुहारहरूबाट देश बन्छ भनेर पर्खनुभएको देश बर्बाद पार्ने काममा सहभागी हुनु हो,’ लिङ्देनले भने, ‘त्यसकारण देश बर्बाद पार्ने काममा सहभागी नहुन र देश बनाउने र देश बचाउने अभियानमा सहभागी हुन म आम देशवासीलाई हार्दिक अपिल गर्न चाहन्छु ।’
राप्रपा एउटा पार्टी मात्र नभई देश र धर्म बचाउने अभियान भएको उल्लेख गर्दै देश बनाउने र देश बचाउने अभियानमा सहभागी हुन सबैमा अपिल समेत गरे । आफूले राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको बताउँदै जुनसुकै मन्दिर जान तयार रहेको उनले दोहोर्याए ।
‘नेपाल अब योभन्दा बढी बर्बाद हुने ठाउँ छैन । साढे तीन दशकको समयमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए पनि त्यही मानिस र त्यही पार्टीहरूको त्यही एमाले, त्यही काँग्रेस, त्यही माओवादी र तीनै नेताको वरिपरि सत्ता घुमिरहेको छ,’ उनले भने, ‘तर यो साढे तीन दशकमा देशको अवस्था के भयो ? मैले भनिराख्नु पर्दैन । हामी कहाँ जाने भनेर उनीहरूसँग हिँडेका थियौँ र अहिले हामी कहाँ पुग्यौँ । हाम्रो आँखा अगाडि छर्लंग छ ।’







